नयाँ संहिता लागू भएपछि सम्बन्ध विच्छेद माग्दै अदालत पुग्ने पुरुष बढे



रोल्पा : नयाँ मुलुकी संहिता जारी भएपछि सम्बन्ध विच्छेद गर्न अदालत धाउने पुरुषको संख्या बढेको छ । रोल्पा जिल्ला अदालतमा गत भदौ १ यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् ।

 

वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको अदालतसम्बद्ध स्रोतले बतायो । 

महिलाले मात्रै यस्ता मुद्दा दायर गर्ने गरेकामा पछिल्लो मुलुकी संहिताले पुरुषलाई समेत सम्बन्धविच्छेद गर्न सक्ने बाटो खुला गरेको छ । संहिता लागू भएपछि पुरुषले समेत मुद्दा दर्ता गर्न थालेको उक्त अदालतका तामेलदार डिठ्ठा झक्कुप्रसाद आचार्यले जानकारी दिए । 

 

महिलाले दायर गर्ने सम्बन्धविच्छेदका मुद्दामा भने मादक पदार्थ सेवन गरी निरन्तर घरेलु हिंसा गरेको, बहुविवाह गरेको, घरमा खानलाउन नदिएको जस्ता आरोप हुने गरेको उनले बताए ।

 

जिल्लामा उमेर नपुग्दै विवाह गरी उमेर पुगेपछि सम्बन्धविच्छेदका लागि अदालत धाउने महिलाको संख्या पनि अधिक रहेको उक्त अदालतकी मेलमिलापकर्ता तीर्था आचार्यले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्