जर्जियामा पहिलोपटक महिला राष्ट्रपति चयन



टिब्लीसी: जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी हुन् ।

 

फ्रान्समा जन्मेकी पूर्व कुटनीतिज्ञ सालोमले करिब ६० प्रतिशत मत प्राप्त गरेकी छिन् । राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो । तर, विपक्षी दलहरुले मतदानमा धाँधली भएको भन्दै सडक प्रदर्शन गरेका छन् ।

 

एघार विपक्षी दलको गठबन्धनबाट उम्मेदवार रहेका ग्राइगोल भाशाजले ४० प्रतिशत मत प्राप्त गरेका छन् । हाल निर्वासनमा रहेका पूर्व राष्ट्रपति मिखाइल साकासभिलीको नेतृत्वमा ११ दलको गठबन्धन निर्माण गरिएको थियो ।

 

निर्वाचनलाई जर्जियाको लोकतान्त्रिक अभ्यास र जनताको अभिरुचि परीक्षणका रुपमा पनि हेरिएको छ । जर्जियाले युरोपेली युनियन र नेटोको सदस्यताका लागि पहल गरिरहेको छ । साथै सन् २०२० मा हुने संसदीय निर्वाचनलाई समेत यस पटकको राष्ट्रपतीय निर्वाचनले प्रभाव पार्नेछ ।

 

उक्त चुनावमा सत्तारुढ जर्जियन ड्रिम पार्टीले धेरैवटा विपक्षी दलहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जर्जियन ड्रिम पार्टीले जुराबिशभिलीलाई राष्ट्रपतिका लागि समर्थन गरेको छ ।  नवनिर्वाचित ६६ वर्षीया जुराबिशभिली रुसी रेड आर्मीले जर्जियालाई रुसमा विलय गरेपछि सन् १९२१ मा पेरिसतर्फ निर्वासित भएका एकजना जर्जियाली शरणार्थीकी छोरी हुन् । जर्जियामा ३५ लाख मतदाता रहेका छन् । निर्वाचनमा करिब ५६ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्