जडीबुटी खेतीतिर लागे जनमुक्ति सेनाका पूर्वकमाण्डर



तेह्रथुम: धेरै युवा विदेश जान चाहन्छन्, तर कतिपय यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न सफल पनि छन् । त्यस्तै ध्ये एक हुन्, मेन्छ्यायेम गाउँपालिका–६ का विनोद अधिकारी । अधिकारी तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका कम्पनी कमाण्डरसमेत भएका थिए तर द्वन्द्व समाप्त भएर विस्तृत शान्ति सम्झौता पछि उनको दैनिकी परिवर्तन भयो । अहिले उनले टिना जडीबुटी बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जडीबुटी व्यवसाय गर्दै आएका छन् ।  

 

०७४ सालमा फार्म दर्ता गरी व्यावसायिक बनेका अधिकारीले अहिले कृषि फार्ममा थुप्रै जडीबुटी लगाएका छन् । फार्ममा चिराइतो, पाखनवेद, नागबेली, ठूलो ओखती, लोक्ता, मझिटो इन्द्रेणी, लोठसल्ला, सतुवा, वन लसुन, अलैँचीलगायत ५० बढी जातका जडीबुटी पाइन्छ । यसका साथै चियाको नर्सरी पनि गर्ने गरेको अधिकारीले बताए । शुरुआतमा पाँच लाख ५० हजार रुपयाँले थालेको जडीबुटी खेतीमा हालसम्म रु २८ लाख बढी लगानी भइसकेको उनले बताए । पचास रोपनी आफ्नो जग्गा र भाडामा लिएको १५ रोपनी जग्गामा सञ्चालित फार्मबाट उनले वार्षिक रु १० लाख मुनाफा कमाउने लक्ष्य राखेको बताए । अहिले कमाइ अलि कम छ । उद्देश्यअनुसार लगानी र मेहनत गरिरहे पनि खेती थपिँदै गएकोले आम्दानी बढ्ने क्रममा भएको उनले बताए ।

 

माओवादी द्वन्द्वकालमा उनले फष्ट डिभिजन विप्लव श्रीजन स्मृति ब्रिग्रेड, इलामको दानाबारीमा ०५८ सालदेखि दुई वर्ष बिताएका थिए । २०६३ देखि २०६४ सम्म दुई वर्ष हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा समूहको सदस्यसमेत भएर काम गरेको उनी बताउँछन् । उनले २०६२÷०६३ को जनआन्दोलनपश्चात् विस्तृत शान्ति सम्झौता भएपछिको सेना समायोजनबाट बाहिरिएको बताए ।

 

व्यवसाय थालेको छोटो समयमा राम्रो आर्थिक प्रगति गरेका अधिकारी जडीबुटी व्यवसायमा सन्तुष्ट छन् । चिया नर्सरीका लागि गाउँपालिकाले रु एक लाख ५० हजार सहयोग गरेको र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडवाट रु २५ हजार प्राप्त गरेको अधिकारीले बताए ।

 

सेना समायोजनमा नपरेपछि उनले साधारण जीवन नै रोजे । अहिले पनि उनलाई राजनीतिमा धेरै चासो छैन । थोरै राजनीति र धेरै व्यावसायिक बन्ने योजना बनाएको उनी बताउँछन् ।  नेपालमा पनि काम गरे पैसा कमाउन सकिने भन्दै यही देशमा केही उदाहरणीय काम गरेर देखाउने योजनामा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्