चुनाव हारेकालाई वरिष्ठ नेता पदवी नदिन कांग्रेस जिल्ला सभापतिको सुझाव



नुवाकोट ः नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले यसअघि दिइएका सुझाव पार्टी विधानको मस्यौदामा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

नुवाकोटमा जारी भेलामा सहभागी जिल्ला सभापतिहरुले यसअघि हेटौंडा भेलाबाट दिइएको सुझाव बन्दै गरेको विधान मस्यौदामा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

जिल्ला सभापतिहरुले व्यापक असन्तुष्टि व्यक्त गरेपछि विधान मस्यौदा समितिका सदस्य मदनकुमार अमात्यले कतिपय कुरामा सहमति गर्नुपरेकाले हेटौंडा भेलाबाट दिइएको सुझाव मस्यौदामा समेट्न नसकिएको स्पष्ट पारे । उनी ललितपुर कांग्रेसका सभापति पनि हुन् ।

भेलामा अमात्यले भने, ‘विधानमा कतिपय कुरामा सहमति गर्नुपरेकाले हेटौंडा भेलाको सुझाव समावेश गर्न सकेनौं । यो विषयमा साथीहरूले असन्तुष्टि जनाउनुभयो । यसलाई केन्द्रीय समितिमा छलफलमा रहेको विधान मस्‍यौदामा समावेश गर्न पार्टीलाई आग्रह गर्छौं ।’

जिल्ला सभापतिहरुले पार्टीमा वरिष्ठ नेताको पद नराख्‍न आग्रह गरेका छन् । पार्टीको सभापतिमा पराजित व्यक्तिलाई वरिष्‍ठ नेतामा राख्ने कांग्रेसको विद्यमान विधानमा छ । अब बन्ने विधानमा भन् वरिष्ठ नेताको व्यवस्था नराख्ने सुझाव आएको अमात्यले बताए । उनले भने, ‘सभापतिमा चुनाव हारेको व्यक्तिलाई पार्टीको वरिष्ठ नेतामा राख्न हुँदैन । वरिष्ठ नेता योगदान र अनुभवका आधारमा राखिनुपर्ने हो, मतका आधारमा होइन ।’

उनले जिल्लामा सभापतिमा हारेका व्यक्तिहरू जिल्ला सदस्य हुने भएकाले केन्द्रमा पनि सभापतिमा हारेकाहरूलाई वरिष्ठ नेता नभई केन्द्रीय सदस्य मात्र बनाउनुपर्ने स्पष्ट पारे । ‘जिल्लामा सभापतिमा हारेका जिल्ला सदस्‍य हुन्छन् भने केन्द्रमा पनि सभापतिमा पराजित हुनेलाई केन्द्रीय सदस्‍य मात्र बनाउनुपर्छ’, अमात्यले भने ।

जिल्ला सभापतिहरूले भेला सकिएलगत्तै पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतलाई भेटेर भेलाका सुझावबारे जानकारी गराउने कार्यक्रम छ । भेलाले ककनी घोषणापत्र पनि जारी गर्नेछ । भेलाका सहभागी पार्टीलाई विधान मस्यौदाबारे सुझाव दिन प्रतिवेदन तयार पार्दैछन् । यस्तै निर्मला हत्याकाण्ड, महँगी तथा सरकारका गतिविधिबारे जिल्ला सभापितिहरूको धारणा समावेश गरी राजनीतिक प्रतिवेदन तयार हुँदै गरेको भेलाका सहभागीले बताए । 

प्रतिक्रिया दिनुहोस्