बर्खास्तमा परेका प्रदेश मन्त्री साेडारीले सरकारी सुविधामा पाएकाे टेबुल कुर्सी पनि छाेडेनन्



धनगढी : बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले सरकारी निवास छाड्दा प्रदेश सरकारले उपलब्ध गराएका सरकारी सामान पनि साथै लगेका छन् । उनले टीभी, पलङ, टेबुल,  कुर्सीलगायत सरकारी सामान आफ्नो घर लगेका उक्त मन्त्रालयका एक कर्मचारीले बताएका छन् । 

 

पदमुक्तपछि सरकारी आवास छोडदा प्रयोग गर्दै आएका सामान मन्त्रालयको स्टोरलाई बुझाई फर–फारक गर्नुपर्ने प्रावधान भए पनि मन्त्री सोडारी र गीताले भने सरकारी सामान मन्त्रालयलाई बुझाएनन् । 

सोडारीले ती सबै सामान लगेपछि नवनियुक्त मन्त्री कृष्णराज सुवेदीको बसोबास व्यवस्था मिलाउन कठिन भएको मन्त्रालय स्रोतले बताएको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले आवश्यक सामग्रीबारे जानकारी लिइरहेको बताए । सोडारीले के–के सामान लगे भन्ने विषयमा मन्त्रालयले छानबिन पनि गरिरहेको उनले जानकारी दिए ।

 

सोडारीको आवास व्यवस्था मिलाउन भन्दै प्रदेश सरकारले ११ लाख ७३ हजार खर्च गरेको थियो । आवासमा के कति सामान थिए भन्ने विषयमा जानकारी नभए पनि आवश्यक केही सामान भने खरिद गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।

 

अस्थायी मुकामबाट १५ किलोमिटर आसपास घर भएका मन्त्रीले सरकारी आवास सुविधा लिन नपाउने नियम भए पनि सोडारीले उक्त नियम उल्लंघन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्