मौरी डुलाइले बिगार हुन्छ भन्ने गलत सोचाइका कारण चरनमा समस्या



चितवन : मौरी चरन क्षेत्रका स्थानीय तहले पत्र काटेरै मौरी चराउन नल्याउन भनेपछि यहाँका किसान समस्यामा परेका छन् । चरनको खोजीमा यहाँका किसानले विभिन्न जिल्लामा मौरी लैजाने गर्दै आएका छन् ।  

 

नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार दाङको घोराही नगरपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चरनका लागि मौरीका घार नल्याउन पत्र काटेका हुन् ।

 

उनले अहिले चितवनका ८० प्रतिशत मौरीका घार बाहिरी जिल्लामा रहेको जानकारी दिए । यहाँका मौरीपालकले चरन क्षेत्र खोज्दै दाङ, अर्घाखाँची, प्युठान, रोल्पालगायत जिलामा घार लैजाने गर्छन् । सबैभन्दा बढी घार दाङमा लगिन्छ । त्यहाँ तोरी र चिउरी चरनका लागि लाने गरिन्छ । ७० प्रतिशत हाराहारी घार दाङमा भएको पौडेलले बताए । 

 

महासंघका अनुसार ३३ जिल्लामा मौरीपालक किसानको सञ्जाल छ । मौरीपालक किसान विष्णु भुसालका अनुसार बाहिरी जिल्लामा घार लान नपाएमा यहाँको चरनले धान्ने अवस्था छैन । चितवनमा २१ लाख मौरीको गोला र २१ हजार मौरीका घार छन् । त्यस्तै पाँच सयको हाराहारीमा मौरीपालक किसान छन् । महासंघले जंगल फँडानी, तोरीमा विषादी, चरन क्षेत्रमा रोकलगायतले मौरीपालकलाई समस्या भएको जनाएको छ । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख मेघनाथ तिमल्सिना मौरी चरनले कृषकलाई बेफाइदा नहुने बताउँछन् । परागसेचित हुने बालीका लागि मौरी र अन्य कीरा महत्वपूर्ण हुने उनले बताए ।

 

यस्ता बालीमा फूलको भाले अंगमा रहेको परागकण स्त्री केशरमा सेचन गराउने काम गर्ने हुँदा बाली पनि राम्रो हुने उनको भनाइ छ । मौरी डुलेर बिगार हुन्छ भन्ने कृषकको धारण रहेको बताउँदै उनले त्यस्तो नभई पुष्प र पराग दुवै खेर जानबाट बच्ने बताए । 

 

महासंघका अध्यक्ष शर्माका अनुसार नेपालमा अहिले ५७ हजार मेलिफेरा र एक लाखमाथि सेराना मौरीका घार छन् । पाँच हजार पाँच सय व्यावसायिक कृषक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्