मोटरसाइकल चलाउनै नजान्ने जनप्रतिनिधिलाई सवारी र पेट्रोल खर्च



कैलालीः धनगढी उपमहानगरपालिकाका सवारी साधन चलाउन नजान्ने जनप्रतिनिधिहरुले पनि पेट्रोल खर्च भन्दै नगरपालिकाबाट रकम लिने गरेका छन् । अर्कोतिर सवारी लाइसेन्स नै नभएका जनप्रतिनिधिहरुलाई नगरपालिकाले मोटरसाइकल दिएको छ । 

जनप्रतिनिधिरुले विलासिताको जीवन बिताउन अनेकौं शिर्षकमा तलब भत्ता लिने गरेको भन्दै व्यापक आलोचना भइरहेका बेला असम्बन्धित शिर्षकमा नगरपालिकाले रकम बाँड्नु नियम विपरीत रहेको जनगुनासो छ । 

स्थानिय तह बनेसँगै धनगढी उपमहानगरपालिकाले मेयर, उपमेयर, वडा अध्यक्ष लगाएत वडा सदस्यहरुलाई सवारी साधन र पेट्रोल खर्च दिने निर्णय गरेको थियो ।  सोही निणर्य अनुरुप १९ ओटा वडा अध्यक्षका लागि प्रत्येकलाई एउटा एउटा मोटरसाइकल दिएको र उनीहरुलाई महिनाको १५ लिटर बराबरको पेट्रोल खर्च दिने गरेको थियो भने सबै वडा सदस्यहरुलाई मासिक ५ लिटर बराबर पेट्रोल खर्च  दिने गरेको छ ।  

धनगढी उपमहानगरपालिका २ का स्थानीय धर्मराज ओझाले मोटरसाइकल चलाउन नजान्ने वडा अध्यक्ष र मोटरसाइकल नै नभएका वडा सदस्यलाई पेट्रोल खर्च शिर्षकमा रकम दिनु नियम सम्मत नभएको र यसलाई तुरुन्त रोक्नुपर्ने बताए । 

धनगढी उपमहानगरपालिका–१९ का वडा अध्यक्ष मुरारी अधिकारीले जनप्रतिनिधिलाई सेवा सुविधा दिने कुरा केन्द्रियस्तर र प्रदेश तहबाट नै सुधार गरेर ल्याउनुपर्नेमा जोड दिए । 

यता धनगढी उपमहानगर पालिकाका मेयर नृप वडले जनप्रतिनिधिहरु भौतिक सुख सुविधा र विलासिताको जिवन बिताई रहेका भन्ने कुरा सर्वसाधारणमा भ्रम रहेको भन्दै, मेयर उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुलाई नियम अनुसारनै यातायात खर्च दिएको बताए ।

 

उनले भने मोटरसाईकल चलाउन नजान्ने जनप्रतिनिधि पनि जनता माझ गएर काम गर्ने भन्दै सेवा सुविधा बाट बन्चीत नगर्नु पर्नेमा जोड दिए ।  यसरी सवारी साधन हाक्नै नजान्ने र सवारी साधननै नभएका जनप्रतिनिधि लाई पेट्रोल खर्च शिर्षकमा नगरपालिका बाट रकम बाढ्नु र अर्को तिर सवारी लाईसेन्स नै नभएका जनप्रतिनिधि लाई मोटरसाईकल र पेट्रोल खर्च दिनु नियत संगत नभएको सर्वसाधारणको बुझाई छ ।   

 

प्रतिक्रिया दिनुहोस्