काठमाडौं : टी टेन लिगमा सन्दीप लामिछानेको टिम केरला नाइट्स् नर्दन वारियर्ससँग आठ विकेटले पराजित भएको छ । १० लिगमा खेलेका चार खेलमध्ये सन्दीपले आज निकै खराब बलिङ गरे ।
सन्दीपले आफ्नो दुई ओभरको स्पेलमा ४७ रन खर्चेका छन् । पहिलो ओभरमा २२ रन दिएका सन्दीपले दोस्रो ओभरमा २५ रन दिए ।
सन्दीपको दुई ओभरमा ७ छक्का प्रहार भएको छ । चौथो ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गरेका सन्दीपले तीन छक्कासहित २२ रन खाएका थिए ।
त्यसपछि सातौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले चार छक्का खाए । सो ओभरको सुरुवाती तीन बलमा आन्द्रे रसेलले लगातार तीन छक्का प्रहार गरेका थिए ।
चौथो बलमा एक रन मात्रै दिए पनि पाँचौँ बलमा निकोलस पुरनले पुनः छक्का प्रहार गरे ।
यसअघि सन्दीपले प्रतियोगिताका तीन खेलबाट ६ विकेट लिइसकेका छन् । सन्दीपले राजपुतविरुद्धको तेस्रो खेलमा दुई विकेट लिएका थिए । पहिलो खेलमा सन्दीपले तीन विकेट लिँदै म्यान अफ द म्याच बनेका थिए ।
प्रतियोगिताको लागि सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।
सन्दीप टी टेन पछि अस्ट्रेलियाको बिगब्यास लिग खेल्नेछन् भने उनलाई पाकिस्तान सुपर लिगका लागि लाहोर क्वलन्दरले अनुबन्ध गरिसकेको छ । सन्दीपलाई २०१९ को सिजनका लागि इन्डियन प्रिमियर लिग टोली दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ गरिसकेको छ ।