भक्तपुरमा सुरुङमार्ग बन्ने, सघाउन जापान तयार



भक्तपुर: दैनिकरुपमा बढ्दो सडक जामलाई कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमणका क्रममा कोटेश्वर जडीबुटी सुरुङमार्ग र सूर्यविनायक–धुलिखेल छ लेन सडक निर्माण गर्न जापान सरकारले सहमति जनाएको सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

 

सडक विभागको वैदेशिक सहायता महाशाखामा भएको बैठकमा जापानी प्रतिनिधिले कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङमार्ग बनाउन जापानले अध्ययन गर्ने भएको छ । महाशाखाका प्रमुख श्रेष्ठले एक महीनापछि सुरुङमार्ग निर्माण कार्यको अध्ययन शुरु गर्ने जानकारी दिए ।

 

यसअघि पनि प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको पहलमा सुरुङमार्ग निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण, मन्त्रालयका प्रतिनिधिलगायत सरोकारवालाबीचको पटकपटक भएको छलफलबाट सुरुङमार्ग निर्माण गर्ने सहमति भएको थियो ।

 

कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एक मात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङमार्ग निर्माण गर्ने अवधारणा अगाडि सारेर शुरु गरेको पहलले सार्थकता पाएको सांसद महेश बस्नेतले बताए ।

 

अरनिको राजमार्गको कोटेश्वर सूर्यविनायक खण्डको चारदोबाटो चोक, मनोहरा पुल, लोकन्थली र राधेराधे चोकमा आकाशे पुल निर्माण गर्ने, जडीबुटीदेखि टङ्कप्रसाद आचार्यको सालिकसम्म र थिमि क्षयरोग अस्पताल क्षेत्रमा सर्भिस ट्र्याक निर्माण गर्ने, पाँच ठाउँमा सडक ट्राफिक बत्ति राखिने निर्णय भएको उनले बताए । त्यसैगरी जडीबुटी, लोकन्थली, कौशलटार, थिमिलगायत ठाउँमा दुईतले सर्भिस ट्र्याक, निर्माणाधीन राधे राधेको हनुमन्ते पुल र लोकन्थलीको मनोहरा पुल निर्माणलाई तीव्रता दिने निर्णय भएको सांसद बस्नेतले बताए ।

 

तत्कालका लागि जाम हटाउन मनोहरा खोलामा अस्थायी पुल बेलिब्रिज निर्माण कार्य शुरु भएको जानकारी दिँदै उनले भक्तपुरको ६ लेन सडकमा सर्भिस ट्र्याकबाट दुईपाङ्ग्रे सवारी साधन पठाउने र मनोहराखोलाबाट बालकुमारी जान नयाँ सर्भिस ट्र्याक बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्