एजेन्सी : अमेरिकी सिरियल किलर स्यामुल लिटलले ३५ वर्षमा ९० जनाको हत्या गरेको स्वीकार गरेका छन् । हाल उनी ७८ वर्षका भए ।
उनले सन् १९७० देखि २००५ सम्म ९० जनाको हत्या गरेको अमेरिकी संघीय अनुसन्धान विभाग एफबीआइले जनाएको छ । एफबीआइले भनेको छ,‘अमेरिकी इतिहासमा स्यामुल एक खतरनाक हत्यारा हुन् ।’ उनले हत्या स्वीकार गरेका घटनामध्ये अहिलेसम्म ३४ जनाको घटना मिलेको छ ।
उनीमाथि अनुसन्धान जारी छ । सन् २०१२ सेप्टेम्बरमा उनलाई लागु औषध प्रयोग गरेको आरोपमा पक्राउ गरेर जेल हालिएको थियो ।
त्यसपछि सन् २०१४ मा ३ महिलाको हत्या गरेको आरोपमा उनलाई आजीवन जेल सजाय सुनाइएको थियो ।
लस एन्जलस काउन्टीमा सन् १९८७ र १९८९ मा तीन महिलाको रहस्यमयी हत्या भएको थियो । यस घटनामा स्यामुलको संलग्नता भएको हुनसक्ने आशंका गरिएको छ ।
हत्याको अभियोगमा सजाय भोग्नुपूर्व उनी बलात्कार र लुटपाटका घटनामा दर्जनौपटक जेल पुगिसकेका थिए ।
उनले प्रहरीसँग अमेरिकाका विभिन्न स्थान ज्याक्सन, मिसिसिपी, सिनसिनाटी, ओहियो, फोनिक्स, एरिजोना, लासभेगस, नाभेडामा कैयौँको ज्यान लिएको बयानमा स्विकारेका छन् ।
सन् १९७० देखि १९८० को दशकमा जब अमेरिकामा डिएनए प्रविधि थिएन त्यस बेला उनले दर्जनौँ हत्या गरेको बुझिएको छ । उनलाई टेक्साको जेलमा मृत्यु भइन्जेलसम्म राखिने छ ।