तलबमा विवाद हुँदा बालकको अपहरणपछि हत्या, झाेलामा शव भेटियाे



 

काठमाडौँ: तलबका बारेमा विवाद हुँदा आफ्नै सवारी चालकले काठमाडौँ गोङ्गबुका एक बालकको अपहरणपछि हत्या गरेका छन् । 

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहका अनुसार स्याङ्जा भिरकोट नगरपालिका–७ घर भई हाल काठमाडौँ २६ मित्रनगर बस्ने २२ वर्षका महेन्द्र एसके (सार्की)ले तलब र जागीरको विवादका कारण बालकको अपहरणपछि हत्या गरेका हुन् । उनी एक महीनादेखि उक्त गेष्ट हाउसमा सवारी चालकका रुपमा काम गर्दै आएका थिए । 

घटनामा संलग्न रहेको आशङ्कामा आज दिउँसो पक्राउ गरी सोधपुछ गर्दा सो रहस्य बाहिर आएको प्रहरीले जनाएको छ । बालक बेपत्ता भएको उजुरी परेपछि दुई दिनदेखि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भन्नुभयो, “धेरै अनुसन्धान बाँकी नै छ, प्रारम्भिक अनुसन्धानमा रिसले हत्या गरेको स्वीकार गरेको छ, अपहरण, शरीर बन्धकपछि हत्यामा मुद्दा चल्छ ।” 

पैसाको माग गरे/नगरेकामा भने खुल्न बाँकी रहेकोसमेत उनले बताए। मालिकले गालीगलौज गर्ने, बालकले पनि घृणा गर्ने र प्रविणसँग जागीर र तलबका विषयमा विवाद भएपछि आवेगमा हत्या गरेको सार्कीले स्वीकारेको उनले बताए । 

उनले मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका ६ः४५ बजे नागर्जुनको जङ्गलमा लगेर नाँक, मुख थुुनी घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको प्रहरीले जनाएको छ । 

त्यसपछि होटलमा आएर उनले बालकको खोजतलासमा सहयोग गरेकोसमेत प्रहरीले जनाएको छ । उनको बयानका आधारमा खोजी गर्दा गोङ्गबुको म्हैपी पुलमुनि बालकको शव फेला परेको थियो । 

प्रतिक्रिया दिनुहोस्