हात्तीवनमा यसरी बनेको थियो रेखा थापालाई प्रदेश २ मा भित्र्याउने योजना



काठमाडौं : राष्ट्रिय चलचित्र विकास बोर्डका कुनै बेला अध्यक्ष थिए धर्मेन्द्र मोरवैता ‘पप्पु’ । नेपाली चलचित्र फाँटका निर्माता, निर्देशक, कलाकार र प्राविधिकहरूको सरकारी संस्था भनेर चिनिने बोर्डमा पहिलोपटक मैथिली र भोजपुरीजस्ता भाषाका चलचित्रकर्मी पप्पु अध्यक्ष बनेर गएका थिए ।

एउटा खास भाषा नै राष्ट्रिय हुने मानसिकता र परम्परागत परिभाषाका कारण उनलाई बोर्डमा निकै अप्ठ्यारोको सामना गर्नुपर्‍यो । 

पप्पुको नियुक्तिपछि काठमाडौंकेन्द्रित कलाकर्मीहरूको एउटा बाक्लो भीडले निरन्तर उनलाई घेरिरह्यो, विफल तुल्याएर बहिर्गमन गराउने ठूलै कसरत गरिरह्यो । त्यसताका नेपाली चलचित्र फाँटकी निर्मात्री र अभिनेत्री रेखा थापाले पप्पुलाई भरथेग गरिन् । 

थापाजस्तो सफल र प्रभावशाली अभिनेत्रीको सहयोग र साथ पाएका पप्पु पनि दह्रो मनोबलका साथ अघि बढे र बिरोधीको षड्यन्त्रलाई चिर्दै बोर्ड अध्यक्षका रूपमा कार्यकाललाई सम्झनलायक बनाए । 

तर, यी जम्मै कथा विस्तारका बीचमा पप्पु र थापाबीचको सम्बन्धका चर्चाहरू पनि कम्ती भएनन् । पति छविराज ओझासँगको तिक्ततापूर्ण बन्दै र पप्पुसँग नजिकिँदै गरेका प्रसंगहरूले अखबारका पाना रंगिन थाले । 

सन् २०१४ को शिवरात्रीमा पप्पु र रेखाको एउटा तस्बिर सार्वजनिक भएको थियो । जसमा उनी दुवैजना बाबा भोलेनाथको प्रसादका रूपमा गाँजा तानेको चर्चा थियो ।

त्यसलगत्तै रेखाका हिम्मतवाली र काली फिल्मका पप्पुको लगानी रहेको गफ पनि नभएको होइन । अर्थात् बोर्ड अध्यक्ष भएपछि चिनाजान भएको पप्पु–रेखाबीच पारिवारिक परिचय भइसकेको थियो । 

बोर्ड अध्यक्षबाट अलग्गिएपछि पप्पु र रेखाबीचको सम्बन्धका चर्चा सेलाए । रेखा पनि फिल्मी दुनियाँमा व्यस्त भइन् । यता बोर्ड अध्यक्षका रूपमा राजनीतिक नियुक्ति पाएका पप्पु तत्कालीन सञ्चारमन्त्री राजकिशोर यादवको ऋण तिर्न फोरम गणतान्त्रिकमा थप सक्रिय भए । 

तर, सिरहामा राम्रै जनाधार रहेका र चुनावी राजनीतिमा पारिवारिक पृष्ठभूमिका कारण उकालोलाग्दो गुनाभाग गर्न सक्ने पप्पु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरे । र, पार्टीको केन्द्रीय नेता बने । 

पूर्णकालीन राजनीतिमा होमिएपछि पप्पुको फिल्मी चर्चा हरायो । तर, उनी रेखासँगको सम्बन्धबाट भने अलगथलग भइसकेका थिएनन् । यसबीचमा फिल्मी कामका अतिरिक्त सामाजिक फाँटमा सक्रिय भएकी रेखा छोरीचेलीको उन्नयनका लागि चुनौतीपूर्ण क्षेत्रमा काम गर्न खोजेकी थिइन् । 

त्यसबखत शिक्षा र स्वास्थ्यमा कर्णाली प्रदेशकै हाराहारीमा पिछडिएको भूगोल प्रदेश २ मा उनको आँखा पर्यो । प्रदेश २ मा पप्पुकै पार्टी संघीय समाजवादी फोरमका मुख्यमन्त्री लालबाबु राउत थिए । भनिन्छ, उनले नै प्रदेश सरकार र अझ मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमसँग जोडिएर प्रदेशमा काम गर्न रेखालाई सल्लाह दिए । र, यसका लागि माहोल पनि बनाए ।

 

मुख्यमन्त्रीको बेटी पढाउ र बेटी बचाउ कार्यक्रम भारतीय प्रधानमन्त्रीको कार्यक्रमसँग मिल्दोजुल्दो रहेको र कमाउ धन्दा भएको आलोचनाका बीच यस कार्यक्रमबारे थप चर्चाका लागि रेखालाई जोड्नुपर्ने विश्लेषण पप्पुको थियो । अर्थात् उनले रेखालाई प्रदेश २ मा भित्र्याएर पार्टी र सरकारका लागि राजनीतिक फाइदा हुने आधारसमेत तय गरेका थिए । 

पप्पुनिकट अर्का एक राजनीतिकर्मी भन्छन्, ‘जसरी चलचित्र फाँटमा हल्लाखल्ला गरेर बजार प्रभावित गर्ने गरिन्छ त्यसरी नै प्रदेश २ मा रेखाको उपस्थिति गराएर मुख्यमन्त्रीको कार्यक्रमप्रति समाजलाई आकर्षित गराउने पप्पुको सोच थियो । 

यसमा उनी सफल पनि भए । अहिले प्रदेशका गाउँघरदेखि सामाजिक सञ्जालका भित्तामा बेटी पढाउ, बेटी बचाउकै चर्चा छ ।’

कसरी बन्यो रेखालाई प्रदेश भित्र्याउने योजना

मुख्यमन्त्री लालबाबु राउत पार्टी पदाधिकारी बैठकका लागि केही दिनअघि काठमाडौं आएका थिए । त्यहीबेला पप्पुको हात्तीवनस्थित निवासमा मुख्यमन्त्री राउत र रेखाबीच कार्यक्रममा साझेदारीका लागि सहमति भएको थियो ।

 

पप्पु निवासमा भएको लन्च मिटिंगमै कार्यक्रममा रेखाको सहभागिताका विषयमा टीकाटिप्पणी हुनसक्ने आकलन गरिएको थियो । तर, यस्तो आसन्न परिस्थितिलाई चिर्दै अघि बढ्ने र काम गरेर प्रदेशवासीको मन जित्ने रणनीति त्यहाँ बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्