पर्यटन मजदुरको ज्याला २० प्रतिशत वृद्धि हुने



काठमाडौं : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र मजदुर युनियानहरूबीच पर्यटन मजदुरको ज्याला २० प्रतिशतले वृद्धि गर्ने सहमति भएको छ । पर्यटन बोर्डको हलमा भएको वार्तामा हाल पाउँदै आएको ज्यालामा सन् २०१९ जनवरी १ बाट लागू हुने गरी वृद्धि गर्ने सहमति भएको हो ।

इन्स्सुरेन्समा पूर्वकार्यसमितिका निर्णयलाई पूर्णरूपले लागू गर्ने, टिम्सको मजदुर कल्याणकारी कोषबाट आउने १० प्रतिशत रकम पूर्णरूपमा मजदुरकै लागि प्रयोग गर्न पहल गर्ने र सोका लागि टानले मजदुरहरू रहने गरी कार्यदल बनाउने सहमति पनि भएको छ । 

यस्तै, मजदुरहरूको मृत्यु भएमा काजकिरियाबापत मृतकको परिवारलाई १ लाख दिनुपर्ने, टिम्सको रकमबाट मजदुरलाई तालिम दिनुपर्ने, मजदुरको सामाजिक सुरक्षा र कम्पनीका कार्यरत मजदुरलाई वर्षको एकपटक चाडबाड खर्च सरकारी नियमअनुसार दिनुपर्ने, आफूखुसी पदयात्रामा जाने पर्यटकलाई रोक्न टिम्स र अन्य पर्मिटहरू बन्द गराउन टान र मजदुर संगठनहरू मिलेर तत्काल आन्दोलन गर्नेलगायत सहमतिसमेत भएको छ ।

सम्झौता कार्यान्वयन भए नभएको बारे प्रत्येक ६र६ महिनामा समीक्षा गर्ने सहमतिसमेत भएको टानका महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिए । सहमति भएसँगै टानको सचिवालयमा मजदुर युनियनहरूले लगाएको ताला खुलेको छ । टानमा ३ दिनअघि मजदुर युनियनहरूले विभिन्न माग राखेर तालबन्दी गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्