जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव



सिन्धुली : जिल्ला अस्पताल सिन्धुलीमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । हाल २३ कर्मचारीको दरबन्दी रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ । ६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा हाल एकजना स्त्रीरोग विशेषज्ञ मात्र कार्यरत छन् ।

स्वास्थ्य मन्त्रालयले बालरोग विशेषज्ञ बुलु वाग्लेलाई खटाएको भए पनि उनी काठमाडौंस्थित कान्ति अस्पतालमा काजमा बसिरहेका छन् । हाडजोर्नी तथा नसारोग विशेषज्ञ लक्ष्मीकान्त शर्मा पनि वीर अस्पतालमा काजमा छन् । 

अन्य विशेषज्ञलाई भने हालसम्म जिल्ला अस्पतालमा नखटाएको जिल्ला अस्पतालकी प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।

जिल्ला अस्पतालमा पाँचजना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल चारजना मात्र कार्यरत रहेको डा. गौतमले बताइन् । अस्पतालमा दुईजना एचएको दरबन्दी रहेकोमा दुवै रिक्त छन् । १२ जना स्टाफनर्सको दरबन्दी भए पनि चारजना मात्र कार्यरत रहेको उनले बताइन् ।

अस्पतालमा २४ घन्टै ल्याब, एक्स–रेसहितको इमर्जेन्सी सेवा सुचारु भए पनि जनशक्ति अभावका कारण सेवा सञ्चालनमा समस्या भएको उनले बताइन् । केही करारका र केही अन्य फिल्डका कर्मचारी राखेर सेवा सञ्चालन गरिए पनि छिटो–छरितो सेवा दिन भने समस्या परेको उनको भनाइ छ । 

अहिले अस्पतालमा कार्यरत प्राविधिक क्षेत्रका सबै जनशक्ति १८ घन्टाभन्दा बढी खटिनुपर्ने बाध्यता रहेको समेत उनले बताइन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्