सुधीर बस्‍नेतको जग्गा रोक्का



काठमाडौं : समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन समितिले ओरेन्टल सहकारी संस्थाका अध्यक्ष सुधीर बस्‍नेतको जग्गा रोक्का गरेको छ । बस्‍नेतले अनाधिकृत र गैरकानुनी ढंगले सूचना प्रकाशित गरी सर्वसाधारण ठगेको भन्दै समितिले ध्यानाकर्षण गराएको हो ।

बस्‍नेतले कोहिनूर हिल हाउजिङ प्रालि र भेगासिटी अपार्टमेन्टका बुकिङकर्तालाई सम्झौता नवीकरण गर्ने र रकम बुझाउन भनी सार्वजनिक सूचना प्रकाशित गरेका थिए । त्यसपछि समितिले यी अपार्टमेन्टको कारोबार रोक्का गरेको हो । 

कोहिनूर हिल अन्तर्गत उपत्यकाका सानेपा, मानभवन, मिनभवन, इमाडोललगायत स्थानलगायत १० वटा परियोजना छन् । सरकारले सुधीर बस्‍नेतसँग सम्बन्धित आयुषा डेभलपर्स प्रालि, कोहिनुर हिल हाउजिङ प्रालि, ओरेन्टल डेभलपर्स एन्ड बिल्डर्स प्रालि र त्यसअन्र्तगत २२ वटा परियोजनाको पनि निगरानी गरी मूल्यांकन गर्दै आएको छ ।

समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्न गठन भएको व्यवस्थापन समितिको निर्देशनविपरीत बस्‍नेतले पटक–पटक सूचना प्रकाशित गरी सदस्यबाट अपार्टमेन्ट बुकिङका नाममा थप रकम माग्दै आएका छन् । अपार्टमेन्ट समायोजन वा किस्ताको नाममा रकम उठाएको भन्दै समितिले आपत्ति प्रकट गरेको हो ।

समितिले गैरकानुनी र अनधिकृत सूचनाका आधारमा कोही कसैले अपार्टमेन्ट बुकिङको नवीकरण, समायोजन, किस्ता, रकम, शुल्क, दस्तुरलगायत कुनै रकम नबुझ्न, नबुझाउन, थप बुकिङ नगर्न नगराउन सचेत गराएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्