कांग्रेस बैठक आज पनि  



काठमाडौं: प्रस्तावित विधानबारे छलफल गर्न नेपाली कांग्रेसले आज पनि केन्द्रीय कार्यसमितिको वैठक बोलाएको छ । संशोधन हुन लागेको विधानबारे छलफल गर्न बैठक बिहान ११ बजे बोलाइएको हो ।  संशोधन मस्यौदामाथि हिजोदेखि छलफल सुरु गरेको छ ।

 

मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल सुरु भएको हो ।  पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा हिजो केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रस्तावित विधानलाई अन्तिम रुप दिन छलफल सुरु गरेको थियो ।

 

पार्टीको मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन कांग्रेस छलफलमा जुटेको हो । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ ।  

 

यही मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएपछि बैठक बोलाइएको हो । यसअघि बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्