नक्कली सुन किनबेचमा प्रहरी नै संलग्न, यस्तो छ कहानी



काठमाडौं : तीन युवक खासखुस गर्दै घरि यता घरि उता गरिरहेका थिए । नजिकै रहेको चौकीका प्रहरीले तिनीहरूको गतिविधि शंकास्पद ठाने र चेकजाँच थाले । सञ्जय तिरुवा, गोपाल विक र शिव कुमालले सुरुमा त गाडी पर्खेको भनेर झुक्याउन खोजे । ड्युटीमा रहेका प्रहरीले चेकजाँच गर्दा उनीहरूको झोलाबाट ३७ लाख रुपैयाँ र एक केजी सुन बरामद भयो ।

 

त्यसपछि प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि ललितपुर परिसरको जिम्मा लगायो । भोलिपल्ट तीनै जनाको बयानपछि उक्त सुन नक्कली भएको र त्यसैलाई बेच्ने भन्दै लुटिएको रकम बाँडफाँट गर्ने काममा २ प्रहरी हवल्दारसमेत संलग्न भएको रहस्य खुल्यो ।

 

यसरी बन्यो लुटपाटको योजना

प्रहरीका अनुसार गत कात्तिकमा सुमन नाम गरेका एक व्यक्तिले मैतीदेवीको बुद्ध ज्वेलरीका बुद्ध विश्वकर्मा शंकरलाई आफूसँग एक केजी सुन भएको र प्रतितोला ५७ हजार ७ सयका दरले बेच्न खोजेको बताए । सुमनले आफूले बैंकबाटै सुन किनेको र त्यसको बिल पनि रहेको भन्दै बुद्धलाई आश्वस्त तुल्याउन खोजे ।

 

त्यही आश्वासनको पासोमा परेका बुद्धले यही मंसिर ११ गते आफ्ना कामदार विमल विश्वकर्मालाई ४९ लाख ४७ हजार रुपैयाँ दिएर सुमनले भनेकै ठाउँमा सुन किन्न पठाए । विमलले सुरुमा सुन्धारा पुगेर सुमनलाई भेटे। सुन किनबेच गर्ने उपयुक्त ठाउँको खोजीमा उनीहरू त्यहाँबाट न्युरोड, माछापोखरी हुँदै बालाजु छेउको वसन्तनगरस्थित सूर्यविनायक गेस्ट हाउस पुगे ।

 

गेस्ट हाउसमा सुमनले दुइटा कोठा लिएका थिए । एउटा कोठामा उनी विमललाई लिएर छिरे । अर्को कोठामा भने ओपीराम सुनार, शिव कुमाल, मोहनबहादुर बमलगायत ५ जना थिए। विमलले पैसाको झोला बिसाएपछि सुन बेच्ने पक्षका सुमन र दिनेश दर्नालले पहिला पैसा गनौं, त्यसपछि सुन हेरौं भनेर प्रस्ताव गरे । झन्डै ४२ लाख रुपैयाँ गनिसकेपछि दिनेश सुन ल्याउन भन्दै कोठा बाहिर निस्किए । त्यसको केहीबेरमै फिल्मी शैलीमा शिव कुमाल र मोहनबहादुर बम उक्त कोठामा छिरे।

 

महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत हवल्दार मोहन त्यतिबेला प्रहरी पोसाकमै थिए भने शिव कुमाल मोहनले ल्याइदिएको पोसाक लगाएर नक्कली प्रहरी बनेका थिए । यी दुईले सुन किनबेच गरेको भन्दै विमल र अन्यमाथि कुटपिट गरेजस्तो गरे । त्यही बेला शालिकराम नेपाली, ओपीराम सुनारसहित सबैजना झोलाको रकम लिई भागे । कुटपिटबाट सामान्य घाइते भएका विमल त्रसित हुँदै घर फर्किए ।

 

प्रहरी परिसर ललितपुरका एसपी रवीन्द्रसिंह धानुकका अनुसार यसरी लुटेको पैसा उनीहरूले मित्रपार्कमा रहेको हवल्दार मोहनबहादुर बमको कोठामा गएर बाँडेका थिए । दिनेश दर्नालले १ लाख ५० हजार, ओपीराम सुनारसहित दुई जनाले जनही १ लाख, शिव कुमालले १ लाख गरी १० लाख रुपैयाँ बाँडेर बाँकी रकम गोपाल विश्वकर्माले राखेका थिए ।

 

लुटेको रकम लिएर शिव कुमाल दाङस्थित आफ्नो घर जाने गाडी खोज्न साथीहरूलाई लिएर बल्खु पुगेका बेला प्रहरीको फन्दामा परेका थिए । पक्राउको भोलिपल्टै प्रहरी परिसर ललितपुरले घटनामा दुई हवल्दार मोहनबहादुर बम र शालिकराम नेपाली संलग्न भएको पत्तो पाएको थियो । जसमध्ये नेपाली फरार छन् ।

 

चार वर्षयता प्रहरी परिसर ललितपुरमा घुमुवा प्रहरीकै हैसियतमा काम गर्दै आएका शालिकराम पछिल्लो समय महानगरीय प्रहरीले सार्वजनिक यातायातमा हुने यौन दुव्र्यवहार रोक्न सुरु गरेको ‘सेफ्टी पिन’ अभियानअन्तर्गत सार्वजनिक सवारीको अनुगमनमा खटिएका थिए ।

 

चार महिना अघिमात्रै सिपाहीबाट हवल्दारमा बढुवा भएर रूपन्देहीमा सरुवा भए पनि उनी रमाना नलिईकन ललितपुरमै कार्यरत थिए। प्रहरीले पक्राउ परेकाहरूको गतिविधि निगरानी गरिरहेका बेला महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत हवल्दार बमले पक्राउ परेका सञ्जय तिरुवालाई फोन गरेर भेट्न खोजेका थिए । त्यसपछि मात्रै प्रहरीले नक्कली सुन किनबेचको गिरोहमा बम पनि संलग्न रहेको पत्तो पाएको थियो।

 

प्रहरीका अनुसार नक्कली सुन देखाएर लुटिएको रकमको ३ लाख रुपैयाँ हवल्दार बमले हात पारेका थिए र उक्त रकम उनले गोंगबुको सिद्धार्थ बैंकमा डिपोजिट गरेका थिए। प्रहरी अधिकारीका अनुसार हवल्दारहरू नेपाली र बम पुरानो चिनजानका हुन् । नक्कली सुन देखाएर किन्न बोलाउने र सुन किन्न आउनेलाई लुट्ने योजनाको मुख्य योजनाकार हवल्दार नेपाली नै रहेको प्रहरी अनुसन्धानले देखाएको कान्तिपुर दैनिकमा खबर छ।  

प्रतिक्रिया दिनुहोस्