राष्ट्रपति भण्डारी भोलिदेखि पाँचदिन पोल्यान्डतिर



काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी नेसनल फ्रेमवर्क कन्भेन्सन (कोप–२४) मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भोलि पोल्याम्डमा जाँदैछिन् ।

 

भ्रमणका अवसरमा आइतबार राष्ट्रपति भण्डारीले पोल्यान्डमा रहेका नेपाली समुदायलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले कोप–२४ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनुका साथै सोमबार उच्चस्तरीय प्रतिनिधि सहभागी सत्रलाई सम्बोधन गर्नेछिन् ।

 

सोमबार बिहान राष्ट्र सङ्घीय महासभाका अध्यक्ष मारिया फारनन्दा स्पिनोसाले राष्ट्रपति भण्डारीसँग भेट गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन साँझ कोपको सम्मेलनमा सहभागी हुन आएका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूको सम्मानमा पोल्यान्डका राष्ट्रपतिले आयोजना गर्नुहुने रात्री भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् । त्यस्तै, मङ्गलबार राष्ट्रपति भण्डारीले पोल्यान्डका राष्ट्रपति अन्डार्जी सेवास्टिना डुडासँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ ।

 

राष्ट्रपति भण्डारीका साथ वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्यहरू पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतमका साथै राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता रहनेछ । राष्ट्रपति भण्डारी मङ्सिर १९ गते स्वदेश फर्कनेछिन् ।

प्रतिक्रिया दिनुहोस्