सल्यानमा शिक्षक आन्दोलित



सल्यान: जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो ।

 

नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन् । आफूहरुले पटकपटक नगरपालिकामा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएपछि पेनडाउन गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन् ।

 

उधारोमा धेरै काम गर्न नसकिने भन्दै तलब सुविधा नपाएसम्म आन्दोलन नरोकिने शिक्षक महासङ्घ सल्यानका सचिव सुरेशसिंह राठौरले जानकारी दिए । लामो समयसम्म पनि तलब नपाएपछि घर खर्चसमेत चलाउन गाह्रो हुनथालेको सरस्वती आधारभूत विद्यालय सल्लीबजारका शिक्षक सुरेन्द्र खड्काले जानकारी दिए ।

 

समयमै नगरपरिषद् नहुँदा शिक्षकसहित नगरपालिकाका कर्मचारीले तलब पाएका छैनन् भने विकास निर्माणका कामसमेत ठप्प छन् । कार्यपालिाकको बैठक पटकपटक बसे पनि सहमति हुनसकेको छैन । नगरपालिकाभित्र गत आर्थिक वर्षमा नगरपालिकाभित्र सम्पन्न भएका क्रियाकलापको समीक्षा गर्नुपर्ने माग राख्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य प्रमुखको विपक्षमा उभिएपछि परिषद् हुनसकेको छैन । कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको वनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरीले वताए ।

 

मङ्सिर ११ गतेदेखि विद्यालय बन्द भएपछि विद्यार्थी घाम तापेर फर्किएका छन् । परिषद् समयमा हुन नसक्दा नगरपालिकाभित्र रहेका ३४२ शिक्षकले तलब पाउन सकेका छैनन् । वनगाड कुपिण्डे नगरपालिकामा ६५ विद्यालयमा ३४२ शिक्षक कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्