पाकिस्तानमा इमरान सरकारको सय दिन  



पाकिस्तान: पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सयदिने कामको विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री खानले सयदिने अवधिमा विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक वृद्धि गर्ने संकेतहरु देखिएको दाबी गरेका छन् ।

 

प्रगति प्रतिवेदन सार्वजनिक गर्न जिन्नाह कन्भेन्सन सेन्टर इस्लामावादमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सरकारी अधिकारीहरु र विभिन्न क्षेत्रका व्यक्तिहरुको ठूलो उपस्थिति थियो ।

 

प्रधानमन्त्रीका सल्लाहकार मोहम्मद शेहजाद अर्बाबले सरकारले गर्ने भनेको ३४ काम मध्ये १८ काम सम्पन्न गरेको जानकारी दिए । उनले सरकारको काम प्रगतिपूर्ण रहेको दाबी गर्दै अरु १६ काम पनि सन्तोषजनक तरिकाले अगाडि बढेको बताए ।

 

सरकारले सुशासन, आर्थिक वृद्धिका लागि सफल कार्यक्रम, संघीय प्रदेशको सशक्तिकरण, कृषि क्षेत्रको उत्थान र पानीको स्रोतको सम्वर्द्धन, सामाजिक सेवामा परिवर्तन तथा राष्ट्रिय सुरक्षागरी छ ओटा क्षेत्रमा आधार तयार गरेको अर्बाबले जानकारी दिए । गत अगस्त १८ मा प्रधानमन्त्रीका रुपमा खान निर्वाचित भएका थिए ।  उनले त्यति बेला नै सय दिने योजना र कार्यक्रम सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्