सुदूर उच्च पहाडमा भीर मौरीको मह संकलन गर्न समस्या



फाइत तस्वीर

बझाङ : उचित स्रोतसाधनको अभावका कारण सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पाइने भीर मौरीको मह संकलन गर्न समस्या भएको छ। घारविना अग्लो भीरमा आफैँ गोला बनाएर बस्ने भीर मौरीको मह निकाल्ने उचित औजार तथा साम्रगीहरूको अभावमा खेर गइरहेको स्थानीयवासीहरू बताउँछन्।

 

 घर मौरीको तुलनामा भीर मौरी निकै नै बढी संख्यामा हुने भएकाले मह पनि उत्तिकै बढी मात्रामा हुने देखिन्छ । अग्लो भिरमा तथा अग्ला रुखहरुमा बस्ने भिर मौरीको मह संकलन गर्दा निकै नै जोखिम खेप्नु पर्ने स्थानीय बताउँछन्। 

 

 बझाङको साइपाल, तलकोट, गाउँपालिका र बुङगलल नगरपालिका क्षेत्रमा भीरमौरी अधिक मात्रामा पाइन्छन्। विशेषगरी औषधिको रूपमा प्रयोग हुने भिर मौरीको मह प्रतिकिलो एक हजारका दरले विक्री वितरण हुने गरेको छ। यस वर्ष मात्र जिल्लाको साइपाल गाउँपालिकामा करिव पाँच क्वयून्टल मह संकलन भएको छ। 

 

मह निकाल्ने साधनको अभावमा भिर मौरीको कतिपय मह चुहिएर भुइमा नष्ट हुने गरेको साईपाल गाउँपालिका ३ का स्थानीय गोरख बोहराले जानकारी दिए। लाखौको संख्यमा भीर मौरीले बनाएको मह संकलन गर्दा मौरीको टोकाइबाट घाइते हुनुपर्नेसमेत उनले बताए। मौरीको टोकाइपछि ज्वरो आउने र टोकेको ठाउँमा सुनिने गर्छ। यसरी सुनिएको भाग करिव हप्ता दिनपछि मात्र आफैँ निको हुने गरेको स्थानीय बताउँछन्।  

 अग्ला रूख तथा पहाडमा रहेको भीरमौरीको मह निकाल्ने क्रममा लडेर प्रत्येक वर्ष चार जनाले ज्यान गुमाउँछन्। मह संकलन गर्नेको लागि आवश्यक साधन प्लाष्टिक डेस्क, मास्क, हातपन्जा, रसी, भरयाङ लगायतका सामग्रीहरू उपलब्ध भए यस क्षेत्रमा अधिक मात्रामा भीरमौरीको मह संकलन गर्न सकिने स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्