प्रदेश २ को नाम मधेश प्रदेश उपयुक्त : उपप्रधान मन्त्री यादव



जनकपुरधाम : उपप्रधान मन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रदेश २ मधेशको भूमि भएकोले प्रदेशको नाम मधेश प्रदेश उपयुक्त हुने बताएका छन् । महोत्तरीको पिपरामा क्षेत्रिय कार्यालय उद्घाटन पश्चात् पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो प्रतिकृया दिएका हुन् ।

 

कार्यक्रममा उनले प्रदेश २ मा मधेशीको आफ्नै सरकार र बहुमत भएर पनि प्रदेशको नामाकरण गर्न मुख्यमन्त्रीले किन नसकेको भन्दै प्रश्न उठाएका थिए । संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्षसमेत रहेका यादवले वर्तमान संविधान त्रुटीपुर्ण रहेको र विगतमा त्यसकै लागि मधेशी दलले आन्दोलन गर्दा पनि अझै संविधान संसोधन नगरेको भन्दै मधेशको वर्तमान उपलब्धीलाई संरक्षित गर्न र थप अधिकारको लागि निरन्तर संघर्ष गरिरहने बताए ।

 

उनले गणतन्त्र, समावेशिता, मधेशीको पहिचान, स्वाभिमान र सम्मानको विरुद्धमा उठने हरेक कदमको विरोध गर्ने बताए । उनले संविधान संसोधन अपरिहार्य रहेकोले सरकारसँग तत्काल संसोधनको लागि कदम अगाडि बढाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्