
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार सुरु भएको पाँचौं चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध तीन गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पा¥यो । जितसँगै प्रहरी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस खेलसँगै प्रहरीले १० अंक जोडेको छ ।
प्रहरीको जितमा नीरकुमार राईले दुई गोल गरे भने अभिषेक रिजालले एक गोल गरे । खेलको पहिलो हाफको ४१औं मिनेटमा प्रहरीका नीरकुमारले अजित भण्डारीको पासमा हेड गोल गर्दै प्रहरीलाई अग्रता दिलाएका थिए ।
खेलको पहिलो हाफसम्म शून्यका विरुद्ध एक गोलको अग्रता लिएको प्रहरीले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ६६औं मिनेटमा प्रहरीका अभिषेकले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए भने खेलको ८२औं मिनेटमा नीरकुमारले व्यक्तिगत दोस्रो गोल गरे ।
खेलमा प्रहरीका नीरकुमार राई म्यान अफ द म्याच घोषित भए । पराजित एनआरटी एक अंकका साथ लिगको पुछारमा छ ।