नेपाल र म्यान्माबीच व्यापार सम्झौता, कहाँकहाँ होला लाभ ?



काठमाडौं : नेपाल र म्यान्माबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी म्यान्माकी स्टेट काउन्सिलर आङ सान सुकीबीचको वार्तापछि उनीहरुकै उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्माका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरे ।

 

दुई देशबीच खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ । दुई देशका उद्योग वाणिज्य महासंघबीच सम्झौता भई विगतदेखि नै व्यापार हुँदै आएको छ ।

 

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको छ । हाल नेपालमा म्यान्माबाट दाललगायत खाद्यान्न आपूर्ति भइरहेका छ ।

 

लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्माबाट पर्यटक वृद्धि गराउन म्यान्माले सहयोग गर्ने समझदारी भएको छ । 

डा. भट्टराईले नेपाल गौतम बुद्धको जन्मस्थल रहेको र म्यान्मा बौद्धमार्गी मुलुक भएकाले पनि दुई देशबीचको भावनात्मक सम्बन्ध रहिआएको बताए । दुई देशबीच आगामी दिनमा व्यापार र लगानी वृद्धि हुने पनि उनले बताए । म्यान्माले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चैत्य निर्माण गरेको छ । 

 

प्रधानमन्त्री ओली र सुकीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) लाई थप सक्रिय तुल्याउन दुवै पक्षले काम गर्ने विषयमा पनि छलफल भएको थियो । पहिले बर्मा भनिने म्यान्मामा नेपाली मूलका करिब दुई लाख मानिसको बसोबास छ ।

रासस

प्रतिक्रिया दिनुहोस्