‘महिला इन्जिनियरकाे संख्या बढाउँछु’



यही मंसिर २८ गते नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए)को महाधिवेशन हुँदै छ । हुन त महाधिवेशन नौलो होइन । तर, यसपटकको महाधिवेशनमा केही नयाँ भने पक्कै हुँदै छ । पहिलोचोटि नेपाल इन्जिनियर्स एसोसिएसनको प्रादेशिक कमिटिहरू बन्दैछन् ।

 

सबै प्रदेशमा विभिन्न प्यानलहरूले आ–आफ्नो उम्मेदवारी दिइसकेका छन् । अनि सधैं झैं, महिलाको उम्मेदवारी यस वर्ष पनि न्यून छ । एक त त्यसै इन्जिनियरिङ पढ्ने महिलाको संख्या निकै कम छ । भएकाहरू पनि नेतृत्वमा आउन चाहँदैनन् । पुरुषहरूको जमातमा लिडरसिपमा अग्रसर महिला साँच्चै प्रशंसनीय हुन् । महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ११ की इन्जिनियर प्रोमिशा मिश्रा ती मध्येकी एक हुन् ।

 

नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न महाधिवेशनमा प्रदेश २ लोकतान्त्रिक प्यानलबाट सदस्य पदकी उम्मेदवार प्रोमिशा प्यानलको मात्र नभई, प्रदेश २ बाटै चुनावमा उत्रेकी एक्ली महिला हुन् । प्रदेश दुईमा लोकतान्त्रिक प्यानलसहित कुल तीनवटा प्यानल चुनावी प्रतिस्पर्धामा छ । नेपाल विद्युत् प्राधिकरणमा कम्प्युटर इन्जिनियरको रूपमा कार्यरत प्रोमिशा मधेशी युवाहरूका लागि नयाँ नाम भने होइन ।

 

उनका सहकर्मी, र शुभेच्छुकहरूले उनलाई इन्जिनियर, वैज्ञानिक र सँगसँगै सामाजिक अभियन्ताको रूपमा पनि चिन्छन् । हुन पनि उनी जति समय आफ्नो पेसालाई दिन्छिन्, त्यति सामाजिक काममा पनि । २७ वर्षकै उमेरमा युवाको ‘रोल मोडल’ बन्न सफल उनका उपलब्धि पहिल्यै युवानेतृका रूपमा दर्ता भइसकेका छन् ।

 

कहिले प्याडबैंक त कहिले पेन्सिलबैंक अभियान चलाउने प्रोमिशालाई हालसालै सरकारले महिला युवा वैज्ञानिकतर्फको राष्ट्रिय अवार्ड पनि दिएको छ ।

 

महिनावारीको समयमा सरसफाइसम्बन्धी चेतना जगाउन विद्यालय र गाउँगाउँमा प्याड बोकी हिँड्ने उनी इन्जिनियर्स एसोसिएसनको चुनाव किन लड्न चाहन्छिन् ? उनी भन्छिन्, ‘पुल्चोक इन्जिनियरिङ क्याम्पसमा यस वर्ष भर्ना हुने मधेशी महिला विद्यार्थीको संख्या पहिलेभन्दा कम छ । समय अगाडि बढिरहेको छ तर, इन्जिनियरिङ पढ्न चाहने हाम्रा बहिनीको संख्या भने घट्दै छ, किन ?’ उनको विचारमा महिलाहरू इन्जिनियरिङ पढ्नै नचाहने होइनन् ।

 

उनीहरूमध्ये कसैले परिवारको सहयोग पाउँदैन त कसैलाई इन्जिनियरिङ पढ्न के गर्नुपर्छ भन्ने थाहासमेत छैन । आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘मैले इन्जिनियरिङ पढ्न खोज्दा मलाई पनि यस्तै भनिएको थियो । किन इन्जिनियरिङ पढ्ने ? कुनै सजिलो विषय पढे भइहाल्यो नि ।’

 

छोरीहरू चुनौती उठाउन सक्छन् भन्ने आत्मविश्वास अझै समाजमा आइनसकेको बताउँछिन् उनी । समाजको यही सोचलाई चिर्दै उनी ती सबै छोरी र अभिभावकको लागि उदाहरण बन्न चाहन्छिन्, जो छोरीले इन्जिनियरिङ पढ्नु हुँदैन वा पढ्न सक्दैनन् भन्ने सोच राख्छन् ।

 

प्रोमिशाको भनाइमा सकारात्मक उदाहरणले मात्र सोच परिवर्तन गर्न सक्छ । तराईमा क्षमतावान् महिला धेरै छन् । तर, अध्ययनलाई कसरी अघि बढाउने भन्ने ज्ञान नहुँदा धेरै अलपत्र छन् । उनीहरूलाई सही समयमा सही जानकारी दिनसके इन्जिनियरिङ पढ्ने महिलाको संख्या बढ्ने विश्वास छ उनको ।

 

इन्जिनियरिङ पढ्न चाहने महिलालाई सफल इन्जिनियरहरूबाट समय समयमा सल्लाह र सुझाव दिलाउन सकियो भने उनीहरूलाई अघि बढ्न सजिलो हुने उनको विचार छ । यी दुईलाई जोड्ने काम नेपाल इन्जिनियर्स एसोसिएसनले गर्न सक्ने हुँदा उनी यस चुनावमा उत्रँदै छिन् । त्यस बाहेक पनि यस चुनावमा उत्रने केही कारण छन् प्रोमिशाका । इन्जिनियर बनिसकेका महिलामा पनि दक्षता बढाउँदै लानुपर्ने उनको ठम्याइ छ ।

 

उनी एनईएसँग आबद्ध भएर इन्जिनियर महिलाको क्षमता अभिवृद्धिका लागि काम गर्न चाहन्छिन् । त्यस्तै प्रोमिशाको विचारमा प्रदेश दुईमा अत्यधिक क्षमता भएका युवा भए पनि एन्टरप्रेनरसिपमा उनीहरू पछि परेका छन् । सूचनाप्रविधिको समयमा युवालाई एन्टरप्रेनरसीप लिन प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ । प्रोमिशा एनईएसँग आबद्ध भई इन्जिनियरिङ क्षेत्रमा लागेका युवालाई अगाडि बढाउन चाहन्छिन् ।

 

कुनै पनि व्यक्ति वा संस्थाबारे आकलन गर्नुपर्दा उसको विगतका काम हेर्ने गरिन्छ । प्रोमिशाले आफूलाई सक्षम नेतृको रूपमा प्रमाणित गरिसकेकी छन् । महिलाहरूमा महिनावारीको समयमा अपनाउनुपर्ने सरसफाइसम्बन्धी सामान्य चेतना पनि नभएको देखेर प्याडबैंक अभियान सुरु गरेकी उनको अभियानले ठूलो रूप लिइसकेको छ । अभियानअन्तर्गत विद्यालय र गाउँगाउँमा गई महिला तथा किशोरीमा सरसफासम्बन्धी चेतना जगाउने र पुनःप्रयोग गर्न सकिने प्याड बनाउने तालिम दिइन्छ । एउटा सफल लिडरको सबैभन्दा ठूलो गुण हो, अन्यलाई पनि आफुजस्तै बनाउन सक्नु ।

 

प्रोमिशा यस अर्थमा सफल पनि भइसकेकी छन् । सुरुमा दुई जनाबाट थालिएको प्याडबैंक अभियानमा अहिले प्रोमिशा जस्ता थुप्रै जोडिइसकेका छन् । महाधिवेशन प्रचारप्रसारमा व्यस्त उनी महाधिवेशनबाट सुखद परिणाम आउने आसमा छिन् । पुरुषको विषय भनेर चिनिने विज्ञान र गणितमा आफू कुनै पुरुषभन्दा कमजोर नरहेको उनको दाबी छ । प्रोमिशा मधेशका हरेक महिलामा यस्तै आत्मविश्वास जगाउन चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्