जनकपुरधाम : ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि नेपाली चलचित्रकी अभिनेत्री रेखा थापालाई सद्भावना दूत बनाएको भन्दै प्रदेश २ सरकारको चर्को अलोचना भइरहेका बेला एक वरिष्ठ मन्त्रीले मुख्यमन्त्रीको बचाउ गरेका छन् ।
प्रदेश २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले थापालाई अभियानको सद्भावना दूत बनाएको भन्ने कुरा गलत, भ्रामक मनगढन्त भएको दाबी गरेका छन् । उनले प्रदेश सरकारको अत्यन्त महत्पूर्ण र महत्वाकांक्षी योजना कार्यान्वयन क्रममा सघाउन आउने जोसुकैलाई पनि कार्य गर्ने वातावरण बनाइदिने रणनीतिअनुरूप थापालाई प्रोत्साहित गरिएको बताए ।
‘सरकारको यो विशिष्ट अभियानमा दत्तचित्त भएर सघाउन थापाजी तयार हुनुभयो । र, त्यस विषयमा सरकारसमक्ष प्रस्ताव गर्नुभयो । त्यसपछि उहाँलाई अभियानमा टेवा पुग्ने गरी काम गर्न हामीले थप उत्साहित बनाएका हौं,’ मन्त्री साहले द नेपाल टपसँग भने, ‘अभियानलाई सशक्त, प्रभावकारी र परिणाममुखी बनाउन मुख्यमन्त्रीज्यूले सबै क्षेत्रका व्यक्तिलाई आह्वान गर्नुभएको छ ।’
कुनै व्यक्तिले आफ्नो प्रतिभा, क्षमता र दृष्टिले कार्यक्रम सफल बनाउन चाहेको छ भने उसलार्ई निरुत्साहित वा अनादर गर्न नसकिने मन्त्री साहले बताए । मधेसको समाजमा सकारात्मक र सार्थक काम गर्न आउनेलाई सरकारले सदैव स्वागत गर्ने उनले स्पष्ट पारे ।
‘कोही आफ्नो परिचय, सीप र सामथ्र्य यहाँका जनताको जीवनोस्तर रूपान्तरणमा खर्च गर्न चाहन्छ भने त्यसमा छेकबार लगाउनु अनुचित हुन्छ,’ मन्त्री साहले भने । प्रदेशका आन्दोलनकारी शक्ति र प्रतिभाप्रति सरकारले गर्व गरेको उनको भनाइ छ । मन्त्री साहले अभियानलाई थप उचाइमा पुर्याउन प्रदेशकै प्रतिभाको सहयोगको अपेक्षा सरकारले गरेको पनि स्पष्ट पारे ।
‘मधेसमा राजनीति, कला, संगीत, सांस्कृतिक र सामाजिक फाँटमा धेरै व्यक्ति क्रियाशील हुनुहुन्छ । उहाँहरूको प्रादेशिक परिचयमात्र नभएर राष्ट्रिय स्तरमा ख्याति छ । हामी अभियानमा उहाँहरूको ठूलो संख्यामा सहभागिता होस् भन्ने चाहन्छौं,’ मन्त्री साहले भने, ‘यसका लागि हामी उहाँहरूलाई जुनसुकै बेला स्वागत गर्न तयार छौं ।’
मधेस र मिथिलामा सहयोग आदानप्रदानको गौरवपूर्ण इतिहास रहेको स्मरण गर्दै मन्त्री साहले आवश्यक परेका बेला जुनसुकै ठाउँ र व्यक्तिबाट सहयोग लिनुपर्ने र आवश्यक परेकालाई दिनु पनि पर्ने बताए । उनले भने, ‘सुन्तली–धुर्मुसले रौतहटमा सीमान्तकृतका लागि बस्ती बनाइदिँदा हामीले विरोध गरेनौं, प्रशंसा गर्यौं । त्यस्तै हामीबीचकै कसैले गाउँघर डुलेर छोरीचेलीको जीवनस्तर उकास्न खोज्छ भने त्यसमा सरकारको सद्भाव र सहयोग रहन्छ ।’