काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठमा बोल्दै सांसदहरूले नागरिकतामा उल्लेख वंशज परिभाषा प्रस्ट पारिनुपर्नेमा जोड दिएका छन् ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदले वंशज भनेको बाबुमात्र हो वा आमा पनि हो भन्ने विषयमा कानुन बनाउन प्रस्ट हुनुपर्नेमा जोड दिएका हुन् ।
संशोधनकर्ता सांसद बिन्दा पाण्डेले भनिन्, ‘वंशजका आधारमा नागरिकता भनिएको छ, वंशज भनेको बाबु मात्रै हो वा आमा पनि हो, यसको परिभाषा स्पष्ट गर्नुपर्याे ।’
नागरिकतासम्बन्धी नीति संविधानसँग बाझिएको हुनाले संशोधन गर्न जरुरी भएको र अनाथ बालबालिकाका लागि जसले संरक्षण गरेको हुन्छ उसैले नागरिकता दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
संशोधनकर्ता सांसद पवित्रा निरौला खरेलले वंशजको आधारमा नागरिकता दिने भनेर बाबुलाई प्राथमिकता दिने गरेको हुँदा आमालाई पनि त्यस्तो अधिकार दिने खालको कानुन बनाउनुपर्नेमा जोड दिइन् ।
सांसद मीना पाण्डेले वंशजका आधारमा नागरिकता दिँदा बाबुको पहिचान खुल्न नसकेको भन्ने शब्द हटाउनुपर्ने सुझाव दिइन् । सांसद यशोदा गुरुङ सुवेदीले नागरिकताबाट विभेदकारी नीति हटाउनुपर्ने र वंशजको आधार भनेपछि बाबु र आमा दुवै हुनुपर्ने धारणा राखिन् ।
यस्तै समितिका सभापति शशि श्रेष्ठले दफाबार छलफल गरेर सो विधेयकलाई निष्कर्षमा पुर्याइने जानकारी दिइन् । तीन दिनदेखि सो समितिमा नागरिकता ऐन संशोधन गर्ने विषयमा छलफल चलिरहेको छ । संशोधनका लागि ५५ सांसदले १०२ संशोधन हालेका छन् ।
रासस