१४ युवा तथा खेलाडी पुरस्कृत



काठमाडौं :  युवा तथा खेलकुद मन्त्रालयले खेलकुद र युवा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने १४ जनालाई खेलकुद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

 

यसरी सम्मानित हुनेमा खेलकुद क्षेत्रतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी नीताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धामी छन् । 

 

त्यस्तै एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया, ब्याडमिन्टन रेफ्री दीपक थापा, खेल चिकित्सक अजयशमशेर जबरा र संघसंस्थाबाट नेपाल बोसिया संघ सम्मानित भएका छन् । सम्मानित सबैलाई जनही एक लाख रुपैयाँ नगदसहित खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिएको छ । 

 

त्यसैगरी युवा पत्रकारिता पुरस्कार पाउनेहरुमा गोरखापत्र दैनिक दाङकी सविता शर्मा, सामुदायिक सूचना नेटवर्क बाँकेका लीलाप्रकाश चन्द, जनता टेलिभिजन मकवानपुरका रामकुमार रिजाल र अनलाइन खबर बाग्लुङका विश्वास बुढाथोकी छन् । उनीहरुलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

 

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट, उपाध्यक्ष पीताम्बर तिमल्सिनालगायतले उनीहरुलाई सम्मान गरेका हुन् । 

सो अवसरमा खेलकूदमन्त्री विश्वकर्माले सम्मानले खेलाडीमा आत्मबल बढ्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रमा भएका कमीकमजोरी सुधार्दै लैजाने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्