काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सुकीबीच द्विपक्षीय भेटवार्ता भएकाे छ । प्रधानमन्त्री ओलीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने सद्भाव भ्रमणमा रहेकि सुकी प्रधानमन्त्री बराबरको हैसियतमा रहेकी त्यहाँकी 'डिफ्याक्टो' स्टेट काउन्सिलर हुन् । उनी अझ दुई दिन नेपाल रहने भए पनि उनको आजसम्मको भ्रमण सद्भाव भ्रमण हो।
उनी भोलिदेखि विवादित संस्थाको आयोजनामा हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागी हुनेछिन्। नेपाल भ्रमणमा रहेको सुकी नेतृत्वको म्यानमारको प्रतिनिधि मण्डलको टोली र नेपाली प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भएको छलफलपछि दुई देशबीच व्यापार सम्झौतामा हस्ताक्षर भयो।
प्रधानमन्त्री ओलीले भ्रमणमा रहेकी नेतृ सुकीलाई नेपाली भाषाको एउटा पुस्तक उपहार दिएका छन्। कक्षा ९ को पाठ्यक्रममा समावेश सामाजिक विषयको पुस्तक उनलाई उपहार दिएका हुन्।सो पुस्तकमा प्रजातन्त्रवादी नेतृ सुकीको जीवनी र व्यक्तित्व समावेश गरिएको छ।
भेटवार्तामा स्टेट काउन्सिलर सुकीले आफूले विगतमा बसेको समयमा भन्दा काठमाडौँमा धेरै परिवर्तन भएको बताएकी थिइन्। सु की सन् १९७३ मा नेपालमा बसेकी थिइन्। उनका श्रीमान मिचेल आइरिस नेपालमा बौद्ध धर्म, हिमालय संस्कृतिको अध्ययनका लागि नेपाल आएका थिए। उनीसँगै सूकी पनि नेपाल आएकी थिइन्। आइरिस बौद्ध धर्म, हिमालय संस्कृति र तिब्बत मामिलाका अध्येता हुन्। उनको मृत्यु सन् १९९९ मा भएको थियो।