मेस्सी टप-३ मा नपरे बालोन डि’ओरको अस्तित्व गुम्ने



एजेन्सी : सन् २०१८ का लागि दिइने प्रतिष्ठित फुटबल अवार्ड बालोन डि’ओर आगामी डिसेम्बर ३ तारिखमा पेरिसमा दिइँदैछ । तर, यसपटकको बालोन डि’ओर उपाधिका लागि अर्जेन्टिना तथा बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सीलाई बलियो दाबेदार मानिएको छैन् । 

पाँच पटकका बालोन डि’ओर विजेता मेस्सी यसपटक टप-३ मा नै नपर्न नसक्ने बताउँदै आएका छन् । तर, यता रियल मड्रिड तथा स्पेन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक भिसेन्ट डेल बोस्कले मेस्सी बालोन डि’ओरको टप-३ मा पर्ने दाबी गरेका छन् । 

उनले मेस्सी टप-३ मा नपरे बालोन डि’ओरको आफ्नो अस्तित्व नै नरहने बताएका छन् । ‘यदि मेस्सी टप-३ मा परेनन् भने म ज्यादै अचम्ममा पर्ने छु ।’ डेल बोस्कले भने, ‘मेस्सी बालोन डि’ओरको टप-३ मा पर्नै पर्छ । 

किनकी मेस्सी टप-३ मा नपरे यो अवार्डले आफ्नो सबै अस्तित्व र महत्व गुमाउने छ ।’ उनले थपे, ‘यदि यो अवार्डले विश्वकै उत्कृष्ट एक खेलाडीलाई टप-३ मा समेट्न सकेन भने महत्वहीन हुनेछ ।’ मेस्सीले गत सिजन क्लब फुटबलमा उच्च प्रदर्शन गरेको बताउँदै उनले कम्तीमा टप-३ मा पर्ने हक रहेको डेल बोस्कले बताएका छन् । 

यसपटक बालोन डि’ओरका लागि रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिच, युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र फ्रन्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्