आमालाई पनि वंश मान्न माग



काठमाडौं : महिला सांसदले नागरिकता वितरण प्रक्रियामा आमालाई पनि वंश मान्नुपर्ने आवाज उठाएका छन् । वंशज नागरिकतामा पितालाई मात्रै महत्त्व दिइएको प्रति उनीहरूको आपत्ति छ । 

 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ को संशोधन विधेयकमाथि छलफलमा महिला सांसदले ‘वंश भनेको बाबु मात्रै हो, आमाको होइन’ भन्ने मानसिकताबाट मुक्त भएर नयाँ नागरिकता ऐन संशोधन गर्न सुझाए ।

 

प्रस्तावित विधेयकमा आमाको नामबाट नागरिकता बनाउँदा बाबुको पहिचान नभएको पुष्टि हुनुपर्ने, बाबु विदेशी भएको ठहरे नागरिकता रद्द हुनेजस्ता सर्त राखिएको छ । महिला सांसदले त्यस्ता प्रावधान खारेजी माग गर्दै आमाको नामबाट सहजै वंशज नागरिकता प्राप्तिको व्यवस्था मिलाउन विधेयकमा संशोधन हालेका छन् ।

 

सांसद विन्दा पाण्डेले सन्तानको वंश आमा पनि भएकाले त्यसमा स्पष्ट दृष्टिकोण लिएर नयाँ ऐन–कानुन बनाउनुपर्ने बताइन् ।

 

‘छोराछोरीको हकमा आमा र बाबु समान हैसियत हो कि होइनरु’ उनले भनिन्, ‘कानुन र संविधानको नजरमा पनि सबै नागरिकलाई समान भनिएको छ । त्यस्तो हो भने आमाको नामबाट नागरिकता बनाउने विषयमा धेरै व्यवधान किन ?’

 

बाबु विदेशी रहेको पहिचान भएको तर बाबुको नामबाट विदेशी नागरिकता नलिएको भए आमाको नामबाट लिइसकेको वंशज नागरिकता अंगीकृतमा परिणत हुने प्रस्तावप्रति उनले आपत्ति जनाइन् । पाण्डेसहित ७ जनाले उक्त प्रावधान हटाउन संशोधन हालेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्