
विराटनगर : आन्तरिक राजस्व कार्यालयले सार्वजनिक सूचना जारी गरेको पाँच महिना बितिसक्दा पनि मोरङका ३५ उद्योगी व्यवसायीले अझै कर तिरेका छैनन् । कार्यालयले जेठ ७ गते ३७ करदाताको स्थायी लेखानम्बर, नाम ठेगाना र कर बक्यौता खुलाई सूचना जारी गरेको थियो ।
उनीहरूसँग २१ करोड ८४ लाख ६१ हजार ६ सय २६ उठाउनुपर्नेमा दुई करदाताबाट २३ लाख ८६ हजार सात सय ३९ रुपैयाँ मात्र संकलन भएको छ । बाँकी २१ करोड ६० लाख ७४ हजार आठ सय ८७ रुपैयाँ असुल्नुपर्ने देखिन्छ ।
यसमा १६ करोड २१ लाख ४६ हजार नौ सय ३७ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तथा पाँच करोड ३९ लाख २७ हजार नौ सय ५० रुपैयाँ आयकर समावेश छ ।
‘धेरैजसो सम्पर्कमै आएका छैनन्’, कार्यालयप्रमुख दिलीपकुमार गौतमले भने । राजस्व कार्यालयले एकैपटक उनीहरूविरुद्ध कर दाखिलाका लागि सूचना जारी गरेको पनि होइन ।
सबैभन्दा पहिले स्थलगत भ्रमण गरी फेला परेका व्यवसायीलाई भेटेरै उक्त कार्यालयका अधिकृतहरूले कर भुक्तानीका लागि अनुरोध गरेको उनले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।