
काठमाडौं : डिआइजी पद रिक्त हुँदा हुँदै बढुवा नगरी आफूलाई एसएसपीबाटै अवकाश हुन बाध्य पारेर अन्याय गरेको भन्दै पूर्वएसएसपी यादवराज खनालले सरकारसँग क्षतिपूर्ति र थप सुविधा माग गरेका छन् । सर्वोच्च अदालतको फैसलाअनुसार उनले क्षतिपूर्ति माग गरेका हुन् ।
क्षतिपूर्ति माग गर्दै उनले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको सचिवालयमा निवेदन दिएका छन् । ११ महिनाको डिआइजीले पाउने सुविधा पाउनुपर्ने र पेन्सन पनि पूर्वडिआइजीसरह नै हुनुपर्ने उनको निवेदनमा उल्लेख छ ।
सर्वोच्च अदालतले समयमा बढुवा नगर्दा उनलाई भएको क्षतिबराबरको क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो ।
खनालले २९ चैत ०७४ मा सर्वोच्चमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए । १ चैत ०७३ देखि डिआइजीका पद रिक्त भए पनि बढुवा गरिएन, जसकारण उनले १३ जेठ ०७४ मा एसएसपी पदबाटै अवकाश पाएका थिए ।
उनले अवकाश पाएको एक वर्षपछि फैसला भएको हो । उनलाई क्षतिपूर्ति वा अतिरिक्त सुविधा दिन सर्वोच्चले निर्देशनात्मक आदेश दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।