ठाकुर पार्टी कार्यालय गए तर किन बैठकमा बसेनन् ? यस्तो छ कारण



काठमाडौं : अध्यक्ष मण्डलका संयोजक परिवर्तन गरेपछि बस्न लागेको पहिलो बैठकमा सहभागी हुन पूर्व संयोजक महन्त ठाकुर राजपा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । तर, उनी बैठकमा बस्दै नबसी त्यहाँबाट बाहिरिए । 

बाहिरिने क्रममा ठाकुरले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ पनि नदिई हिँडेपछि राजपामा नेतृत्व तहमा देखिएको असन्तुष्टि अझै बढेको प्रस्ट भयो । पछि पार्टीका एक नेताले ठाकुरको दाँत दुखेकाले बैठकमा नबसेको जानकारी दिए ।

तर, लामो समदेखि देखिएको विवादका बीच बैठकमा सहभागी हुन कार्यालय आउने बित्तिकै ठाकुरलाई दाँत दुखेको बहाना पत्याउन सकिएन । त्यसपछि द नेपालटपले यसबारे जान्न खोज्यो ।

सो क्रममा हामीले वास्तविक कुरा अर्कै भएको थाहा पायौं ।

शुक्रबारको बैठकमा पनि संयोजक परिवर्तनको दिन जस्तै पूर्वलिखित केही निर्णय लिएर महतो पक्ष उपस्थित भएको जानकारी ठाकुरले पाएका रहेछन् । यसै कारण ठाकुर बैठकमा नबसी बाहिरिएको एक नेताले जानकारी दिए । 

ठाकुर बाहिरिएपछि शुक्रबार दिउँसो बोलाइएको बैठक विषय प्रवेश नै नगरी स्थगित भएको थियो । 

पूर्वसंयोजक ठाकुरलाई दाँतमा नभई मुटुमा समस्या भएको सबैलाई थाहा छ । त्यसकै उपचारका लागि उनी आइतबार भारतको नयाँ दिल्ली जाँदै छन् । पेसमेकर फेरिएपछि उनी केही महिनाको अन्तरालमा नियमित दिल्ली पुग्ने गरेका छन् । उनले त्यहाँस्थित मेदान्त अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । 

दिल्लीको पाँच दिने बसाइमा ठाकुरले केही भारतीय नेता र अधिकारीसँग भेट्ने कार्यक्रम छ । ठाकुर आइतबार र सोमबार स्वास्थ्यपरीक्षणमै व्यस्त रहने हुँदा राजनीतिक भेटघाट मंगलबारबाट आरम्भ हुने भए पनि कोकोसँग र कहिले भेट्नेभन्नेबारे तय भइनसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्