जंगली जनावरले बाली सखाप पारेपछि पेसा बदल्दै किसान



रसुवा : गोसाइकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका निमा तामाङले पुर्खौंदेखि गर्दै आएको कृषि पेसा छाडेका छन् । लगाएको सबै बाली बँदेल, लंगुर, दुम्सीलगायतका जंगली जनावरले नष्ट गर्न थालेपछि उनी पुर्ख्यौली पेसा छाड्न बाध्य भएका हुन् ।

 

तीन वर्षअघिसम्म २२ रोपनी जग्गामा आलु, मकैसहित तरकारी खेती गर्दै आएका तामाङको जग्गा अहिले बाँझै छ । जंगली जनावरले क्षति नपुराओस् भनेर उनले तारबार घेरे, कतिपय गौँडामा त पर्खाल नै लगाए । तर, जंगली जनावरको ज्यादती रोकिएन । ‘जंगली जनावरले चिराइतो खाँदैनन् भनेर लगाएको थिएँ, त्यो पनि मृगले कलिला मुन्टा चुँडेर सखापै पारिदियो,’ उनले भने, ‘तीन वर्षअघिसम्म भएको सबै जग्गामा बाली लगाउँथे, तर उत्पादन भएका कृषिउपज बँदेल र लंगुरले क्षति पुर्याएर भित्र्याउन नै नपाएपछि अहिले काम नै छाडेँ ।’

जुन बाली लगाए पनि जंगली जनावरले क्षति गरेपछि स्थानीय कृषक अहिले सबै जग्गा बाँझै छाडेर विकल्पमा यातायात व्यवसायतिर लागेका छन् । निमा जस्तै ठुलोस्याफ्रुका पेमादोर्जे तामाङले पनि जंगली जनावरले बालीमा क्षति पु(याउन थालेसँगै कृषि पेसा परिवर्तन गरेका छन् । जंगली जनावरले कृषिबाली सबै नष्ट गरेपछि चिराइतो खेती गरे पनि बजारभाउ नपाएपछि अहिले मजदुरीतिर लागेको उनले बताए ।

 

‘बँदेल र लंगुर बाँदरले जे बाली लगायो, सबै खाएर नष्ट बनाएपछि अहिले अधिकांश उर्र्वर जमिन सबै बाँझो बनेको छ,’ तामाङले गुनासो पोखे, ‘आफ्नो सम्पत्ति भनेकै यही जग्गा थियो, त्यो पनि जंगली जनावरका कारण प्रयोगविहीन भएपछि यहाँका हामी सबै किसान विकल्पमा अर्को पेसा अँगाल्न बाध्य भएका छौँ ।

 

जंगली जनावरले कृषिबाली नष्ट गरिदिँदा यस क्षेत्रका किसान चिन्तित हुँदै कृषि पेसा नै परिवर्तन गर्न थालेका छन् । उर्वरभूमि हुँदाहुँदै पनि उनीहरु बाहिरबाट अन्नदेखि तरकारीसम्म आयात गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

 

ठूलोस्याफ्रु मात्र होइन, लाङटाङ राष्ट्रिय क्षेत्रको आसपासमा पर्ने जिल्लाको धुन्चे, लाङटाङलगायतका स्थानमा बढ्दो संख्यामा बँदेल र लंगुर मानवबस्तीमा पसेर कृषिबाली विनाश गर्न थालेपछि किसानहरू निरुत्साहित भएका छन् । लाङटाङमा विशेष गरी करु, आलु र फापरबाली लगाइन्छ, तर किसानले बाली भित्र्याउनैै पाउँदैनन्, नयाँपत्रिकामा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्