नेपालकाे संसदमा प्रश्न: गृह प्रशासन छ कि छैन ?



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् ।

 

संसद बैठकमा समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बलात्कार, हत्या, एसिड आक्रमणजस्ता घटना भइरहँदा त्यसलाई रोक्ने र नियन्त्रण गर्ने अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका हुन् ।

 

‘बलात्कार, एसिडबाट आक्रमण अनेकौं यस्ता घटना घटेका छन्, भ्रष्टाचार बढेको छ, रोक्ने, नियन्त्रण गर्ने अंग छ कि छैन, कोही गिरफ्तार भएका छन् कि छैनन्’ उनले भने ‘मान्छे हेर्न चाहन्छन् काम, मान्छे हेर्न चाहन्छन् परिणाम ।’

 

खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि सरकार चुप लागेको नेता नेपालले बताए । ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ?, गृह प्रशासन छ कि छैन ?’ उनले प्रश्न गरे ‘खुलेआम देशलाई टुक्र्याउने व्यक्ति छन् । त्यस्तालाई देशभित्रैकाले साथ दिइरहेका छन् ।’

 

अहिले सांसदहरुले पनि लाज मानेर र शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । ‘बाटाघाटामा हिँड्दा, बसमा हिँड्दा के भन्लान्, पैदल हिँड्दा के भन्लान्, पसलमा छिर्दा के भन्लान् ?’ नेता नेपालले भने ‘ अर्को अधिवेशनमा आउँदा शीर ठाडो हुने गरी आउन पाइयोस् ।’

 

भ्रष्टाचार गर्ने र ठेक्कामा ढिलासुस्ती गर्ने र कालोसूचीमा परेकाहरु नै पुरस्कृत भइरहेको भन्दै उनले तिनीहरुलाई पटक पटक जिम्मेवारी दिनुको कारण के हो भन्ने प्रश्न उठेको बताए ।

प्रतिक्रिया दिनुहोस्