तलब नपाएपछि प्राध्यापकले मागे क्याम्पस प्रमुखको राजीनामा



कैलाली : फूलबारी बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीले क्याम्पस प्रमुख र अध्यक्षको राजीनामा माग गरेका छन् ।

प्राध्यापक तथा कर्मचारीले आफूहरुका माग सुनुवाइ नगरेको जनाउँदै क्याम्पस प्रमुख यमबहादुर पौडेल र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भुवन रिजालको राजीनामा शुक्रबार एक विज्ञप्तिमार्फत मागेका हुन् ।

प्राध्यापकले बाँकी रहेको तलब पाउनुपर्ने र पेसागत हकहित सम्बन्धमा आवाज उठाउँदा क्याम्पस प्रमुखले प्राध्यापक तथा कर्मचारीलाई सहयोग नगरी दोहोरो चरित्र देखाएको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले क्याम्पस प्रमुखसँग सहकार्य गर्न नसकिने जनाएका छन् । 

गत असोज २३ गते क्याम्पस प्रमुखसहितको उपस्थितिमा प्राध्यापक तथा कर्मचारीले बैठक बसी आफूहरुको बाँकी रहेको तलब मंसिर १ सम्म उपलब्ध गराउन क्याम्पस व्यवस्थापन समितिलाई जनकारी दिने निर्णय गरे पनि समितिले कुनै सुनुवाइ नगरेको प्राध्यापकहरुको आरोप छ ।

प्राध्यापकले तलब माग्दै मंसिर १ गते देखि ९ गतेसम्म हातका कालोपट्टी बाँधेर काम गरेका थिए भने१० गतेदेखि १४ गते सम्म पेनडाउन गरेका थिए । यति गर्दा पनि व्यवस्थापन समितिले छलफल गर्न कुनै पहल  नगरेको  विज्ञप्तिमा उल्लेख छ ।

क्याम्पस प्रमुख पौडेलले क्याम्पसमा आर्थिक स्रोत नहुँदा प्राध्यापक तथा कर्मचारीलाई २०७५ असार मसान्तसम्मको ४८ लाख ७७ हजार ८ सय १३ रुपैयाँ तलब खुवाउन वाँकी रहेको  स्वीकार  गरेका छन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भुवन रिजालले प्राध्यापक तथा कर्मचारीको आन्दोलन सही दिशातिर नगएको प्रतिक्रिया दिए ।

 

प्रतिक्रिया दिनुहोस्