अमेरिकामा शक्तिशाली भूकम्प, एक लाखभन्दा बढी मानिस प्रभावित



एजेन्सी : अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पले अलास्काको ठूलो सहर एंकरएजबाट ११ किलोमिटर उत्तरमा केन्द्रविन्दु बनाएको छ । ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे युएसजिएसले जनाएको छ ।

 

भूकम्पका कारण मानिसहरू अत्तालिएका छन् । उनीहरू घरबाट बाहिर निस्किएका छन् । भूकम्पलगत्तै बारम्बार गइरहेको परकम्पले थप त्रसित बनाएको छ । एंकरएजमा झण्डै तीन लाख मानिस बस्छन् । 

भूकम्पको केन्द्र रहेको क्षेत्रमा झण्डै एक लाख मानिस रहेका छन् । नेपाली समय अनुसार शुक्रबार राति ११ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो । चार म्याग्निच्युडभन्दा माथिका १० सहित ४० भन्दा बढी परकम्प गइसकेका छन् । सडकहरु छिया छिया भएर चिरिएकाे छ । 

 

भूकम्पलगत्तै जारी गरिएको सुनामीको चेतावनी भने पछि फिर्ता लिइएको जनाइएको छ । भूकम्पका कारण कसैको ज्यान गएको छैन । करिब एक लाख मानिसका घरमा बिजुली आपूर्ति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्