एड्स दिवस मनाइरहँदा कसले बुझ्ने कान्छीको पीडा !



भादगाउँ : विश्व एड्स दिवस मनाइरहँदा एड्सबाट संक्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा (नाम परिर्वतन) को दुखेसोलाई कसैले बुझेको छैन । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए ।

 

दुई वर्षअगाडि भाइको विवाहका लागि नेपाल आउने क्रममा बिरामी भएर जाँच गराउँदा उनलाई एड्स लागेको पत्ता लागेको लामाले बताइन् । उनले भनिन्, ‘उहाँसँगै म र मेरो पाँच वर्षे छोरामा एड्सको जीवाणु भेटियो, अहिले हामी तीनैजना एड्सबाट संक्रमित छौं ।’ 

 

श्रीमानकै कारण परिवारलाई नै एड्स सरेपछि गाउँमा अपहेलित हुने डरले डेढ वर्षदेखि भक्तपुर बस्दै आएको लामाले बताइन् । एड्सकै कारण दुई पटक गर्भपतन गरेकी लामाले श्रीमानका कारण यस्तो काम गर्नुपरेको दुखेसो पोखिन् ।

 

‘मेरो श्रीमानलाई यो रोग लागेको आठ वर्ष भइसक्यो । मैले दुई वर्ष अगाडि मात्र थाहा पाएँ । यो कुरा श्रीमानलाई पहिलै थाहा थियो तर मैले छाडेर जान्छु भन्ने डरका कारण उहाँले नभन्नुभएको रहेछ । अहिले उहाँकै कारण मैले र छोराले दुःख पायौं’, उनले भनिन्, ‘कहिलेसम्म बाँच्छु, थाहा छैन, नियमित औषधि खाइरहेकी छु । मेरो श्रीमान् औषधि खान मान्नुहुन्न । अब धेरै बाँच्दिनँ भन्नुहुन्छ । निको हुने रोग होइन भन्दै मदिरा सेवन गरी मातेर बस्नुहुन्छ । छोरासँगै उहाँका लागि समेत जोहो गर्नुपर्छ ।’ 

 

ताथलीकै इँटाभट्टामा मजदुरी गर्ने सीता तामाङ (नाम परिवर्तन) पनि श्रीमानकै कारण एचआइभी संक्रमित हुन् । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि भारतबाट फर्केर आएपछि श्रीमानकै कारण एड्स लागेको बताउने ४९ वर्षीया सीताका तीन छोरी छन् ।

 

दुई वर्षसम्म एड्सले संक्रमित श्रीमानको रेखदेखमै गाउँ बसेकी सीतालाई श्रीमानको मृत्युपछि परिवारका सबै सदस्य मिलेर घर निकाला गरे । उनले रुँदै भनिन्, ‘श्रीमानको मृत्युपछि पनि जसोतसो गरी गाउँमै मजदुरी गरेर छोरी पाल्दै आएकी थिएँ, पछि मेरै सासूका कारण त्यहाँको कामबाट हटाइयो र गाउँबाट समेत निकाला गरियो ।’ 

 

कान्छी र सीता त उदाहरणमात्रै हुन् । थुप्रै एचआइभी संक्रमित महिला परिवारको सहारामा बाँच्नुपर्नेमा मजदुरी गरेर बस्नुपरेको छ । यसबारे कुनै पनि सम्बन्धित निकायसँग तथ्यांक छैन ।

 

राज्यले नियमित औषधि र ल्याब परीक्षण सेवा निःशुल्क रूपमा दिए पनि घरपरिवार र समाजको डरका कारण संक्रमित महिला सेवा लिन डराउँछन् । असुरक्षित यौनसम्पर्क र सुईद्वारा लागूपदार्थ सेवन गर्ने व्यक्तिका कारण सर्ने यो रोगका बारेमा जनचेतना फैलाउन नसक्दा एड्स लागेका मानिस समाजमा खुल्न नसक्ने सरोकारवाला बताउँछन् । 

रासस

प्रतिक्रिया दिनुहोस्