घुम्ती शिविरबाट आठ सय ३४ ले पाए नागरिकता



                                                  मोरङ केराबारी गाउँपालिकामा सञ्चालित शिविरमा नागरिकता लिनेकाे भीड ।

मोरङ : जिल्लाको केराबारी गाउँपालिकामा राखिएको तीनदिने नागरिकता वितरण घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा राखिएको शिविरबाट सो संख्यामा नयाँ नागरिकता बाँडिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । पाण्डेले शिविरमा पाँच सय १७ महिला तथा तीन सय १७ जना पुरुषले नयाँ नागरिक लिएको बताए ।

 

उनले भने, ‘मंगलबार र बुधबार दुईदिनको लागि शिविर राखिएको भए पनि अत्यधिक भीडका कारण बिहीबार थप सर्वसाधारणको सहजताको लागि शिविर राख्नुपरेको थियो ।’ वर्षमा चारवटा शिविर आयोजना कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्षको पहिलो शिविर केराबारीमा राखेको हो । 

यस क्रममा केराबारी गाउँपालिकास्थित उत्तरी सिंहदेविकी ८१ वर्षीया लक्ष्मीदेवी खड्काले नागरिकता बनाइन् । उनले भनिन्, ‘यसै गाँउपालिकाबाट एक वृद्ध महिलाले पहिलोपटक नयाँ नागरिकता लिनुभएको छ । साथै नागरिकता लिनेहरुमा ६० प्रतिशत २० वर्षमुनि उमेर समूहका रहेका छन् ।’ 

यसक्रममा पहिलो दिन मंगलबार दुई सय र बुधबार दोश्रो दिन दुई सय ७५ जनालाई नागरिकता वितरण गरिएको छ । तीनदिने नागरिकता वितरणका क्रममा ३७ जनाले प्रतिलिपि नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । 

सर्वसाधारणलाई माथिल्लो पहाडी क्षेत्रबाट एकैदिनमा विराटनगर पुगेर नागरिकता लिन असहज हुने भएकाले पहिलोपटक केराबारीमा शिविर राखिएको गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले बताए । कार्कीका अनुसार नागरिकतासँगै मतदाता परिचय पत्रका लागि पाँच सय ४५ जनाले मतदाता नामावलीका लागि फोटो खिचेका छन् । जसमा तीन सय तीन जना महिला र  दुई सय ४२ जना पुरुष छन् । 

केराबारी गाउँपालिका मोरङको उत्तरी क्षेत्रमा अवस्थित पहाडी र तराइ भूभागको मध्यमा पर्छ । केराबारीका १० वटा वडाअन्तर्गत सिंहदेवी, भोगेटेनी, याङ्शिला, पाटीलगायतबाट नागरिकताका लागि सर्वसाधारण पुगेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्