सुरु भयो एसिया प्रशान्त सम्मेलन



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २१औं शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् ।

 

शनिबार सुरु भएको ‘एसिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भए पनि गरिबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापार, नवप्रवर्तन, संस्कृति आदिका माध्यमबाट एसियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन आह्वान गरे । 

 

उनले जलवायु परिवर्तन विकास र मानवीय अस्तित्वकै लागि चुनौती भएको भन्दै हिमालहरुको पग्लने क्रम रोक्ने उपायबारे सोच्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको मूलभूत सफलता, संविधान निर्माण र निर्वाचनहरुको चरणपछि मुलुक विकास र समृद्धिको चरणमा रहेको जानकारी गराए । 

 

नेपाल सरकार तथा संघीय संसद् नेपालको सहयोग तथा युनिभर्सल पिस फेडेरेसन, इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिक्स (आइक्याप), इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरुको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना सहभागी छन् । सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ । 

 

सम्मेलनमा लागि म्यान्माका स्टेट काउन्सिलर आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत नेपाल आएका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्