सगरमाथा अस्पतालमा नर्सिङ कलेज खोल्न चार करोड विनियोजन



सप्तरी : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा एउटै योजनामा चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।

 

सप्तरी क्षेत्र नम्बर २ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रहेको परामर्श समितिको बुधबार राजविराजमा भएको बैठकले एउटै योजनामा चार करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो ।

 

उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रस्तावमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको हाताभित्र नर्सिङ कलेज स्थापना गर्ने कार्यमा चार करोड रुपैयाँ विनियोजन गरिएको समितिको सदस्य रहेका राजविराज नगरपालिकाका मेयर शम्भु यादवले जानकारी दिए । उपप्रधानमन्त्री यादव सो निर्वाचन क्षेत्रको परामर्श समिति संयोजक हुन् ।

 

कात्तिक मसान्तभित्रै योजना छनोट भइसक्नुपर्ने म्याद रहे पनि समिति संयोजक यादवको कार्य व्यस्तताका कारण बैठक बस्न नसक्दा योजना छनोटमा १२ दिन ढिलाइ भएको हो । 

 

खुद्रे योजनाभन्दा जिल्ला र क्षेत्रको समग्र विकासलाई ध्यानमा राखी नर्सिङ कलेज स्थापनार्थ चार करोड रुपैयाँ विनियोजन गरिएको मेयर यादवले बताए ।

 

सेवा प्रभावकारी नहुँदा राजविराजमा अञ्चल अस्पताल रिफरल सेन्टरजस्तै भएको थियो । पछिल्ला समयमा चिकित्सक र भौतिक पूर्वाधारको व्यवस्थापनमा ध्यान दिइँदा अस्पतालको अवस्था सुधार हुँदै गएको छ ।

 

अञ्चल अस्पतालभित्र नर्सिङ कलेज स्थापनाका लागि बजेट विनियोजनले अस्पतालको अवस्था सुधारसँगै दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत पुग्ने गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्