कपिलवस्तुमा ५०१ एचआइभी संक्रमित



कृष्णनगर : कपिलवस्तुमा ५०१ जना एचआइभी संक्रमितको पहिचान भएको छ । उनीहरुले ‘एआरटी’ नामक औषधि सेवन गरिरहेका छन् । 

एचआइभी संक्रमितमध्ये ५६ जना बालबालिका छन् । संक्रमित बालबालिकालाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउँदै आएको समर्पण सहयोग समूहका प्रशिक्षक रामबहादुर भरले बताए ।

समूहले विश्व एड्स दिवसको अवसरमा शनिबार अन्तर्क्रिया कार्यक्रम आयोजना गरेर जिल्लामा एचआइभी एड्सको अवस्थाबारे जानकारी दिएको हो । समूहले कपिलवस्तुमा एचआइभी एड्स न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको छ । समूहका प्रशिक्षक भरले कपिलवस्तुमा ५०१ जना एचआइभी एड्स संक्रमित अहिलेसम्म खुलेको र अझै समुदायमा २ भन्दा बढीले रोग लुकाएर बसेको जानकारी दिए । 

कपिलवस्तुको सीमा क्षेत्रका नेपाली नागरिक एचआइभी एड्सको जोखिममा रहेको विभिन्न तथ्यांकले देखाएका छन् । सामाजिक बहिष्कारको डरका कारण संक्रमितहरु अझै पनि समुदायमा खुल्न नसकेको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले बताइन् । 

नेपालमा कुल ३२ हजार ७ सय ४७ जना एचआइभी संक्रमितमध्ये २० हजार १ सय ९८ पुरुष, १२ हजार ३ सय ६१ महिला र १ सय ८८ जना तेस्रो लिंगी छन् । 

प्रतिक्रिया दिनुहोस्