राजधानी सिफारिस गरेकाे ठाउँ नै विवादित, गाेदावरीमा स्वागत कार्यक्रम, धनगढीमा आन्दोलन



धनगढी । ७ नम्बर प्रदेशको राजधानी धनगढीबाट गोदावरी नगरपालिका- ४ मा सारिएपछि धनगढीमा विरोध प्रदर्शन भए पनि गोदावरी नगरपालिकामा भने खुशीयाली छाएको छ ।

 

स्थानिय नगरबासिले प्रस्तावको पक्षमा खुलेर समर्थन गरेका छन् ।  प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गर्न गठिन भएको विशेष समितिको प्रतिवेदन मंगलबार प्रदेशसभा बैठकमा पेश गरिएको थियो ।

 

प्रतिवेदनमा प्रदेशको नाम ‘सुदूरपश्चिम’ र प्रदेश राजधानी कैलाली जिल्लाकै गोदावरी नगरपालिका तोक्न सिफारिस गरेको थियो । 

 

यस्तै  गोदावरी नगरपालिकाले प्रदेश सरकारले गरेको उक्त निर्णयको स्वागतमा बिहिबार (आज) अत्तरिया चोकमा स्वागत कार्यक्रमको आयोजना गरेको छ । बिहान अत्तरिया चोकमा स्थानिय राजनितिक दलका प्रतिनिधि ,जनप्रतिनिधी र अन्य आम अत्तरिया बासीको सहभागितामा एक बिषेश कार्यक्रमको आयोजना गरीएको छ ।

 

गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँदले कार्यक्रममा प्रदेशसभाले गरेको उक्त निर्णय स्वागत योग्य रहेको भन्दै कुनै राजनीतिक दल, स्थानिय तह र जनप्रतिनिधिले विरोध नगर्न आग्रह गरे । 

 

राजधानीको विषयमा अत्तरिया र धनगढीका राजनितिक दलहरु विभाजित भएका छन् । धनगढी र गोदावरी ( राजधानी सिफारिस गरिएको ठाउँ )सम्मको दुरी जम्मा १७ किलोमिटर मात्रै रहेको छ । यता धनगढीमा सिङ्गाे बजार बन्द गरेर विरोध भैरहेको छ भने, प्रदेशसभाले प्रदेशको राजधानी र नामाकरण शुक्रबार बहुमत प्रकृयाबाट पारित गर्ने छ । 

 


मेयरले सच्याए आफ्नो बोली

प्रदेश ७ को राजधानी धनगढीबाट गोदावरी तेघरीमा राख्ने प्रस्तावपछि, धनगढीबासी आन्दोलित भएका थिए । बुधबार भएको आन्दोलनमा धनगढी उपमहानगरपालिका मेयर नृप वडले प्रदेश सरकार र सांसदहरुलाई धनगढी छोड्न अल्टिमेटम दिएका थिए ।

 

मेयर वडले बिहीबार विज्ञप्तिमार्फत आक्रोशको भावमा बोलिएको स्वीकारेका हुन् । बुधबार भएको आन्दोलनमा सहभागी मेयर वडले धनगढीबाहिर राजधानी लैजाने सांसदलाई धनगढीमा बस्ने अधिकार नभएको भन्दै २४ घण्टाभित्र धनगढी छोड्न चेतावनी दिएका थिए ।

 

उनले यो ठाउँ नछोडेमा वा निर्णय नसच्या सांसद बस्ने ठाउँमा गएर आगो लगाउन पनि पछि नहट्ने धम्की दिएका दिए । तर बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर वडले आक्रोशमा गलत शब्द बोलेकोप्रति माफी मागेका छन् ।

 

प्रदेश ७ को राजधानी गोदावरीको जंगलमा सार्न भूमाफियाको पनि संग्लना रहेको आरोप उनले लगाएका छन् । उनले धनगढीमा पर्याप्त संरचना तयार भइसकेको र भौतिक संरचना निर्माणमा करोडौं पैसा लगानी भएको भन्दै राजधानी नसार्न आग्रह पनि गरेका छन् ।


संसदीय समितीले राजधानीको लागि सिफारिस ठाउँ नै विवादित

प्रदेश सातको राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ अन्तर्गत तेघरीस्थित नेपाली सेनाकाे ब्यारेक रहेको स्थानदेखि उत्तर पश्चिम, गोदावरी सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व गोदावरी बजारदेखि दक्षिण यति चार किल्ला हाल स-साना बुट्यान मात्र भएको र स्थायी राजधानीका लागि पर्याप्त सार्वजनिक जमिन रहेको क्षेत्र भनी तोकिएको ठाउँ विवादित बनेको छ । 

 

प्रदेश ७ को नामाङ्कन र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिको प्रतिवेदनमा सोही ठाउँ उल्लेख रहेको छ । उक्त ठाउँ साविक अत्तरिया नगरपालिका हुँदा वडा नम्बर ४ रहेको र हाल गोदावरी नगरपालिका भएपछि वडा नम्बर २ रहेको स्थानीय बासिले बताएका छन् । 

 

समितिले हचुवाको भरमा प्रतिवेदन बनाएको उनीहरुको आरोप छ । गोदावरी नगरपालिका ४ का वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले भने, 'यदि वनदेवी मन्दिरको पश्चिम भए वडा नम्वर ४ हो र त्यो भन्दा दक्षिण भए वडा नम्वर २ हो । पटक पटक म्याद थपेर प्रतिवेदन बुझाएको संसदीय समितीलाई राजधानी सिफारीस गरेको ठाउँको वडा नम्वर पनि थाहा नहुनु कस्तो विडम्वना हो ।'

प्रतिक्रिया दिनुहोस्