बुटवलको सरसफाई महाअभियान २४ औं हप्तामा 



बुटवलः  तिनाउ–बुटवल सरसफाई अभियानमा जनसहभागिता बढ्दै गएको छ । अभियानको चौबिसौं साताको श्रृंखलासम्म पुग्दा स्वतःस्फूर्त रुपमा सहभागी हुने क्रम बढेको छ । 

 

बुटवल उपमहानगरपालिका अन्र्तगत विभिन्न सामाजिक संघ संस्थाहरुले अगाडि बढाएको यो अभियानले २४ औं श्रृंखला पूरा गरेको छ । यसैक्रममा शनिबार बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिक चोकसम्म सरसफाई गरिएको छ । 

 

बुटवल उपमहानगरपालिकाले सुरु गरेको यस्तो महाअभियानमा मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरुदेखि यातायात मजदुरसम्मको सहभागिता जुटिसकेको छ । बिहानै ७ बजे बुटवलमा एक हुल मान्छे सडकमा निस्कने र भेटेजतिको फोहर टिपेर लैजाने गर्दै सुरु भएको अभियानमा सार्वजनिक निजी दुवै क्षेत्रको उत्तिकै सहभागिता जुटेको उप–महानगरपालिकाले जनाएको छ । 

 

 

चौबिसौं श्रृंखलामा सरसफाई अभियानमा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, वडा अध्यक्षहरु, सामाजिक महाशाखा प्रमुख भुवाप्रसाद लुईँटेललगायतको सहभागिता थियो । 

 

‘हाम्रो बुटवल हामी सफा गर्छौ’ भन्ने सन्देश प्रवाह गर्न बुटवले महाअभियानको सुरुवात गरेको प्रमुख शिबराज सुवेदीले बताए । उनले आफ्नो सहर आफै सफा राखौं भन्ने सुझाव जनस्तरबाटै आएकाले यस्तो अभियान सुरु गरिएको बताए । 

उपमहानगरको सरसफाईको नियमित कामका अतिरिक्त सार्वजनिक क्षेत्रहरुलाई लक्षित गरेर जनसहभागिताको यस्तो अभियान सुरु गरिएको उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । 

 

नेपाल स्वतन्त्र यातायात मजदुर संगठन प्रदेश नं ५ ले संयोजन गरिरहेको महाअभियानको सरसफाई कार्यक्रममा शनिबार तीन सय २५ जना भन्दा धेरैको स्वतः स्फुर्त सहभागिता रहेको अगुवा ठाकुर गैरेले बताए । 

 

शनिबार भएको सरसफाई कार्यक्रममा सिमिचौर सम्पर्क समाज, नेपाली सेना, शसस्त्र सेना, वडा नं ४ का वडासदस्यहरु लगायतको सहभागिता रहेको मजदुर संगठन, प्रदेश नं ५ का सह–संयोजक गैरेले बताए ।

 

 संगठनमा आवद्ध मजदुरहरुको सक्रीयतामा संचालन भैरहेको महाअभियानलाई  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), पहिलो पाईला, लायन्स क्लब, युवालगायत सुरक्षाकर्मीहरु स्वतस्फुर्तरुपमा सहभागी छन् । 

 

सरसफाई अभियानमा तिनाउ नदी, अस्पताल, मुख्य सडक र चोकहरु, स्कुल परिसर, पार्कहरुसम्मै पु¥याउने गरी योजना बनाइएको बुटवल उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । 

 

यस्तो अभियानमा मुख्यमन्त्रीदेखि प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरुसमेत सरिक भइसकेका छन् । कुनै एउटा संस्थाको नभई बुटवलबासीको प्रतिष्ठा संग जोडीएको भन्दै संगठनका प्रदेश अध्यक्ष कृष्णप्रसाद कंडेलले सबैलाई महाभियानमा सामेल हुन अनुरोध गरेका छन् । बुटवलका सबै क्षेत्रबाट स्वतः स्फुर्तरुपमा सरसफाईमा लाग्न उनले आह्वान गए ।   

 

‘हाम्रो बुटवल हामी सफा गर्छौ’ भन्ने सन्देश सहित गत असार ५ गतेबाट बुटवल उपमहानगरपालिकाले तिनाउ नदी तथा बुटवल सरसफाई महाअभियान सुरु गरेको थियो । सरसफाई प्रत्यक हप्ताको शनिबार विहान ७ बजे देखि ९ वजे सम्म संचालन भएका छन्. । 

 

बुटवल उपमहानगरको बस्ती र बाटोको क्षेत्रहरु सफा गरिसकेपछि तिनाउ नदीको सफाईमा जुट्ने उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए । उनले बुटवलको विकास र समृद्धिमा बुटवलबासीकै योगदान अपरिहार्य रहने भन्दै सरसफाई महाअभियानमा जुट्न नगरबासी सबैलाई अपिल गरिएको बताए ।  

प्रतिक्रिया दिनुहोस्