‘सरकार नै क्रिश्चियन धर्मको प्रचारमा’



वीरगन्ज : नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गराउने अभियानमा लागेका अगुवाले सरकार र सत्तारुढ दलका पार्टी आफैं क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका छन् ।

नेपाललाई पुनः हिन्दु् राष्ट्र घोषणा गर्नु पर्ने माग गर्दै वीरगन्जमा शनिबार भएको प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता सम्मेलनमा सहभागी हिन्दु परिषद् नेपालका अगुवाले यस्तो आरोप लगाएका हुन् । 

सम्मेलनलाई सम्बोधन गर्दै हिन्दु परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले सरकार र सत्तारुढ दलका नेता आफैं क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाए ।

क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले नै काठमाडौंमा ‘एसिया प्यासेफिक समिट’ आयोजना गरिएको भन्दै उनले उक्त समिटिलाई सहयोग गरेर सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको आरोप लगाए ।

‘क्रिश्चियन मुलुकसँग पैसा खाएर नेपाली नेता ॐ कार परिवार र सनातन हिन्दु धर्म सिध्याउन लागि परेका छन्’, उनले भने, ‘बाहिर हिन्दु भने पनि भित्रभित्रै पैसा खाएर क्रिश्चियनको प्रचार प्रसारमा लागेका छन् ।’

सत्तारुढ दलका गद्धार नेताकै कारण नेपालको हिन्दु राष्ट्रको पहिचान गुमेको भन्दै उनले नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गराउनका लागि संघर्ष जारी रहेको बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्