
काठमाडौं : भक्तपुरमा गत साउनमा दुई युवा मारिएको घटनाको छानबिन लम्बिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले उक्त घटना भएलगतै छानबिन सुरू गरेको थियो ।
चार महिनाको अनुसन्धानपछि पनि घटना इन्काउन्टर हो होइन आयोग निष्कर्षमा पुग्न सकेको छैन् ।
पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएको भनिएका अजय तामाङ र गोपाल तामाङको परिवारले उक्त घटना गैरन्यायिक हत्या भएको भन्दै छानबिनको माग गदै आयोगमा साउन २३ मा उजुरी दर्ता गरेको थियो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भने भक्तपुरको डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा उनीहरूको घटनास्थलमा नै मृत्यु भएको बताएको छ ।
प्रत्यक्षदर्शी तथा स्थानियले घटनाको बारे बयान लिन नमानेका कारण आयोगलाई इन्काउन्टर हो होइन भन्ने निर्णय गर्न कठिन भएको हो । ‘घटनाका प्रत्यक्षदर्शीबाट सूचना पाउन सकिएन । अब प्राविधिक जाँच पछि वास्तविकता नजिक पुग्ने छौँ’, आयोग अध्यक्ष अनुप राज शर्माले भने ।
आयोगले मारिने बालकको परिवार, इन्काउन्टरमा मारिने व्यक्तिको परिवार र घटनाका प्रत्यक्षदर्शी तथा प्रहरीसँग घटनाबारे आवश्यक सूचना र तथ्य संकलन गरेपनि वास्तविकता नजिक पुग्न नसकेको निष्कर्ष निकाल्दै पुनः अनुसन्धान गर्ने निर्णय गरेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।