सुनसरीमा साउनयता ११ हत्या



इटहरी : आफूहरूले विदेशमा गरेको कामको खिल्ली उडाएको झोंकमा तीन युवकले गत भदौ २४ गते सुनसरी बराहक्षेत्र–६ का २२ वर्षीय सुरेन्द्र माझीको हत्या गरे । रक्सीले मातेका ती युवकले आफूहरू विदेशमा हुँदा गरेको कामको आलोचना भएपछि आवेशमा आएर माझीको हत्या गरेका थिए ।

घटनामा संलग्न तीन जनामध्ये मोरङको कानेपोखरी घर भएका २१ वर्षे शरण तामाङ र सुनसरीकै बराहक्षेत्र वडा नं. ६ का २३ वर्षे शक्ति तामाङ परे । अहिले उनीहरू पुर्पक्षका लागि कारागार चलान भएका छन् । अर्का अभियुक्त सुनसरीको इनरुवा–१० जितेन्द्र उराव भने फरार छन् । माझीलाई हत्या गरी उनको शव सप्तकोसी नदीमा फालिएको थियो ।

यस्तै भदौकै २५ गते साँझ देवानगन्ज वडा नं. ५ का ४२ वर्षीय सञ्जिव यादवलाई साथीहरूले घुम्न जाउँ भन्दै घरबाट लिएर गए । त्यसको भोलिपल्ट भारतीय क्षेत्रमा हत्या गरिएको अवस्थामा यादवको शव भेटियो ।

हत्या अभियोगमा प्रहरी कार्यालयमा किटानी जाहेरी परेका यादवकै गाउँका भूपेन्द्र यादव, कान्ति साह, भोलाबैठा मियाँ र सन्जय दास अहिलेसम्म फरार छन् । यादवसहित उनको हत्यामा संलग्न चारै जना भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्ने गरेको खुलेको छ ।

सुनसरीमा शृंखलावद्ध रूपमा हत्याका घटना भइरहेका छन् । यसै क्रममा यही मंसिर ५ गते गोली हानी दुहबी–९, सोनापुर छाताबेलीका मोहम्मद फिदा हुसेनको हत्या भयो । घटना भएको १० दिन भइसक्दा पनि हत्या पत्ता लाग्न सकेको छैन । विशेषगरी भारतसँग सीमा जोडिएको तराईको सीमावर्ती क्षेत्रमा भारतीय आपराधिक समूहबाट नेपालीको हत्या हुने गरेको छ ।

तर फिदाको हत्या भने यहाँकै पेसेवर हत्यारा (कन्ट्रयाक्ट किलर) बाट भएको उनको परिवारले आशंका गरेका छन् । फिदाको हत्यालगत्तै सुनसरी जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालयबाट एसएसपी महसुद आलम खाँ र सिआइबीको छुट्टाछुट्टै टोली अनुसन्धानमा खटिएका छन् । तर अहिलेसम्म हत्याराको पहिचान हुन सकेको छैन । 

सुनसरीमा साउनयता मात्र ११ वटा हत्याका घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । एकपछि अर्को हत्या हुन थालेपछि जिल्लाबासी त्रासमा परेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्