फोरम र राजपामा आन्तरिक विवाद



काठमाडौं : प्रदेश २ मा संयुक्त सरकार चलाइरहेका मधेसी दल संघीय फोरम र राजपा दुवैका केन्द्रीय तहमा समस्या देखिएका छन् । केही समयअघि बसेको फोरमको बैठकमा नेत्री रेणु यादवले राजीनामा दिएपछि स्थगन भएको बैठक सुचारु हुन सकेको छैन । यता ४ मंसिरमा संयोजक फेरिएपछि राजपाले समेत औपचारिक बैठक गर्न सकेको छैन ।

संघीय फोरमको मंसिर २ मा सुरु राजनीतिक समिति बैठकमा नेत्री यादवको राजीनामासम्बन्धी विवाद सिर्जना भएपछि ४ गते बस्ने गरी स्थगित गरियो । फोरमका उपमहासचिव प्रकाश अधिकारीले मंसिर २२ मा बस्ने केन्द्रीय समितिले पार्टीका सबै समस्या सल्टाउने दाबी गरे । 

उनले भने, ‘बाहिर हल्ला भए जस्तो केही समस्या छैन, हामी बैठकको आन्तरिक तयारीमा छौं ।’ अधिकारीले नस्वीकारे पनि फोरम स्रोतका अनुसार मंसिर २ को बैठकमा असोज ३ गते कालो दिवस मनाउनेबारे प्रदेश संयोजक नेत्री यादवले जारी गरेको विज्ञप्ति र प्रदेश २ का विभिन्न जिल्लामा संयोजक तोकिएको सन्दर्भमा विरोध भएको थियो ।

फोरमका महासचिव रामसहाय यादवले बैठकमै नेत्री यादवको क्रियाकलापमा असन्तुष्टि जनाउँदै राजीनामा मागेका थिए । पछि अध्यक्ष उपेन्द्र यादवले बैठक नै स्थगित गराएपछि तनाव मत्थर भयो । त्यसपछि फोरमको राजनीतिक समितिको बैठक बस्न सकेको छैन । फोरमले आउँदो २२ र २३ गते केन्द्रीय समिति बैठक बोलाएको छ । फोरम नेताहरूका अनुसार त्यसअघि कार्यसम्पादन समिति र राजनितिक समितिको बैठक बसी पार्टीका समस्या सल्टाउने प्रयास भइरहेको छ । फोरमले प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको छ भने संघीय सरकारमा पनि सहभागी छ ।

यता ४ मंसिरमा बसेको राजपा अध्यक्षमण्डलको बैठकले महन्थ ठाकुरलाई संयोजकबाट हटाउँदै राजेन्द्र महतोलाई जिम्मा दिने निर्णय ग¥यो । महतोले संयोजकको जिम्मेवारी पाएकै दिन अध्यक्षमण्डलको बैठक आह्वान गरे । तर बैठक बस्न सकेन । 

यसबीच उनले तीन पटक बैठक डाके पनि बस्न सकेको छैन । शुक्रबार पूर्वसंयोजक ठाकुरसँग उनको निवास पुगेर छलफल गरेपछि उनी दिउँसो पार्टी कार्यालय आए पनि बैठक बस्न सकेन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्