पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पेरिसमा प्रदर्शन



एजेन्सी : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा फ्रान्सको राजधानी पेरिसमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले आगजनीसमेत गरेका छन् । पुलिस र प्रदर्शनकारीबीच झडप भएको छ, जसमा कम्तीमा एक सय १० घाइते भएका छन् भने दुई सय ६० भन्दा बढीलाई पक्राउ गरिएको छ ।

आगजनी गरिरहेका प्रदर्शनकारीलाई पुलिसले अश्रु ग्यास, स्टन ग्रेनेड र पानीको फोहोरा प्रहार गरेको छ ।

फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यमा पछिल्लो १२ महिनामा २३ प्रतिशतको बढोत्तरी भएको छ । विश्वमा तेलको मूल्यमा उतार चढाव भइरहेको छ तर फ्रान्समा भने मूल्य वृद्धि पछि कम भएको छैन ।

राष्ट्रपति इम्यानुएल म्याक्रोंको सरकारले हाइड्रोकार्बन ट्याक्स बढाएका कारण यस्तो भएको बताइन्छ ।

पेरिसमा शनिबार भएको प्रदर्शन जी २० सम्मेलनमा पनि गुञ्जिएको बीबीसीले बताएको छ । म्याक्रोंले पेरिसमा भइरहेको प्रदर्शनलाई अनुचित बताएका छन् ।

फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा यसअघि नोभेम्बर १७ मा देशव्यापी प्रदर्शन भएको थियो । त्यतिबेला लगभग तीन लाख मानिस सडकमा उत्रिएका थिए ।

त्यसपछि सोसल मिडियामा राष्ट्रपति म्याक्रोंको आर्थिक नीतिको आलोचना बढ्दै गयो र विरोध प्रदर्शनको धार तिखो हुँदै गयो ।

प्रतिक्रिया दिनुहोस्